Dhulikhel Eco Banner new

मेहनती दिनेश : टपरीमा म:म बेचेरै कमाउछन् मासिक २ लाख !

11.7K
shares

काठमाडौं, ५ जेठ । ‘दाइ २ प्लेट मःम’ भन्दै एक दम्पत्ति कुर्सीमा बस्छन् । अर्डर गरेको केही मिनेटमा नै पसलका सञ्चालकले २ टपरा मःम उनीहरुका अगाडि राखिदिन्छन् । अर्का एक युवाले यसै गरी अर्डर गर्छन । साहुजीले मःम दिन्छन् । यो दृश्य हो, ललितपुरको दोबाटो खोकना टोलको। जहाँ ५ वर्षदेखि मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ का ३५ वर्षीय युवाले टपरी मःम पसल चलाइरहेका छन् ।

५ वर्ष अघिसम्म उनी एउटा मिठाई पसलमा रोजगारी गर्थे । सामान्य पसलको रोजगारी छाडेर आफ्नै व्यवसायमा होमिएका उनी टपरी मःम खोले यता पछाडि फर्केर हेर्नु परेको छैन ।

एकान्तकुनाबाट भैसेपाटी दोबाटोमा गाडिबाट ओर्लिए पछि ३—४ मिनेट अगाडी हिँडेर उनको पसल पुगिन्छ । एकान्तकुनादेखि बुङमती जाने मुख्य सडक उनको पसल अगाडिबाट छ ।

बाहिर एउटा ठिक्क चिटिक्क परेको सेतो बोर्डमा टपरी मःम लेखिएको बोर्ड छ । बोर्डमा उनको नम्बर राखिएको छ । भित्र र बाहिर राखिएका  ५ जोडी टेबलकुर्सी ग्राहकले भरिभराउ हुन्छन् ।

उनले सटरको पेटिमा गाडामा पकाउने सामाग्री राखेर किचेनको काम गर्छन् । मःमको अर्डर दिएर पर्खिरहेका र खादै गरेका ग्राहकले टेबल प्रायः भरिएकै हुन्छ । दिनेश एकलैले पकाउन र ग्राहकलाई दिन भ्याउछन् । यता सडकमा गुडिरहेका बुङमती, चुनीखेल जाने गाडीबाट हतार–हतार गरी गाडीका सह चालकहरु पनि मःम प्याकिङ गर्न भनिरहेको सुनिन्छ ।

प्लेटको सट्टा प्लाष्टिकको टपरा प्रयोग गर्दा भाडा माझ्ने समय, किन्ने पैसा र भाडा माझ्न कर्मचारीमा खर्चिनु पर्ने रकम जोगिन्छ । यहीँ भएर पनि उनले टपरी मःमलाई नै ब्राण्ड बनाएका छन् ।

उनले प्लास्टिकको टपरा प्रति गोटा १ रुपैयाले किन्छन् । स्टीम मःम प्रति टपरा ७० र फ्राई मःम प्रति टपरा ८० रुपैयाँका दरले बेच्छन् । दिनको २५० टपरा भन्दा माथि बिक्री हुन्छ । यसरी उनले दैनिक १५ हजार रुपैयाँ हाराहारीसम्म सजिलै कमाउछन् ।

पसलमा आएर खाने मात्रै होइन, मःम प्याकिङ गरेर लैजाने पनि उत्तिकै हुन्छन् । कुनै सानदार महंगो रेष्टुरेन्ट वा होटलमा खाइने मःम भन्दा कम छैन उनको टपरा मःम को स्वाद ।

दिनशले मःम सँगै ससेज, आलुपरौठा पनि बेच्छन् । तर सबैभन्दा मःम नै धेरै बिक्री हुन्छ । मःम खान आउने ग्राहकको भीड सदाबहार देखिन्छ । आउने ग्राहकहरु पनि सन्तुष्ट छन् । ग्राहकहरुले मःमसँगै आउने चटनी पनि धेरै स्वादिष्ट हुने अनुभव सनुाउछन् ।

‘मःम ताजा र स्वादिष्ट त छदै छ टपरामा भरि ताततातो मःम माथि टमाटरको चट्नी र थोरै खुर्सानीको चट्नी हालेर टुथ पिनले खाँदा वेग्लै स्वादको अनुभव हुन्छ’ मःम खादै गरेका एक ग्राहकले सुनाए ।

दिनेशकी ४ वर्षकी छोरी छिन् । छोरीलाई राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उनले सुनाए । श्रीमती पनि अन्तै जागिरे भएका कारण उनले व्यवसाय भने एक्लै चलाउछन्। उनको पसल हरेक दिन मध्यान्ह १२ बजे पछि मात्रै खुल्छ र बेलुका ८ बजे बन्द हुन्छ ।

बिहानदेखि १२ बजेसम्म मःम बनाउछन् मःम बनाउन राम्रै तलब दिएर २ कर्मचारी राखेका छन् । सटर भाडाका लागि मासिक २० हजार रुपैयाँ तिर्नुपर्छ ।

व्यवसायमा यति धेरै मेहनत गर्ने दिनेशको औपचारिक शिक्षा भने धेरै छैन । आफूले जम्मा ७ कक्षामात्रै पास गरेको उनले सुनाए । पढाइ पुरा गर्न नसक्नुको उनको रहर भन्दा पनि विवशता हो । परिवारको कमजोर आर्थिक अवस्थाको कारण उनले धेरै पढ्न पाएनन् ।

‘पढ्न पाको भए अलिक माथि पुगिन्थ्यो कि’ मःमको अर्डर लिदै उनले हताहतारमा भने । धेरै पढ्न नसकेकोमा उनलाई खासै पछुतो भने छैन । पढाइ मात्र केहि हैन भन्ने कुरा उनको कामबाट देखिन्छ । उनी ९ वर्षमै काठमाडौं आए । काठमाडौं आएपछि उनले मिठाइ पसलमा काम गरे । लामो समय अर्काको पसलमा जागिर खाएका उनले जागिर खाने क्रममा काम सिके ।

उनीसँगैका धेरै साथी विदेश गएका छन् । विदेश जानेहरुले राम्रै नकमाएका होइनन् । ‘मलाई अमेरिका यही मलाई जापान पनि यहीँ’ पशुपति शर्माको गितमा भनिएका शब्दहरु उनको जीवनमा मिल्दाजुल्दा छन् ।

‘म त यहाँ कमाउने जति विदेशमा कमाउन सक्दिन, विदेश गएर महिनाको ५०–६० हजार धेरै भए १ लाख, मैले महिनाको २ लाखसम्म यहीँ बचाउछु’ उनले भने, ‘विदेशमा बिरामी हुँदा हेर्ने कोहि हुँदैन ।’

उनको चाहाना अहिलेको व्यवसायलाई विस्तार गरेर ठूलो  बनाउने छ ।

युवाहरु सरकारले रोजगार दिएन भन्ने गुनासो गरिरहँदा उन्को यो कार्यले पनि केहि कुरा सिकाउछ । परिश्रम गर्नसके आम्दानीको स्रोत जताततै छन् भन्ने उदाहरण बनेका छन् दिनेश । कोहि युवाहरु राज्यलाई गाली गर्दै सामाजिक सञ्जालमा नानाथरी लेख्छन् । दिनेशलाई भने यस्ता कुराको कुनै प्रवाह छैन ।

‘मलाई त सरकारबाट त्यस्तो कुनै अपेक्षा पनि छैन, जे छ यहीँ व्यवसाय ठिक’ उनी भन्छन्, ‘म मेरो पेशामै सन्तुष्ट छु, सोचेको भयो भने यसलाई अझै बढाउछु ।’

हरेक मान्छेहरुका आ–आफ्नै संघर्ष हुन्छन् । ति संघर्षलाई हामी नियमित रुपमा खुसी कोलममा प्रस्तुत गर्नेछौं । खुसी कोलमको यो श्रृंखलामा हामीले मःम पसल गरिरहुन भएको दिनेश श्रेष्ठको खुसीको कथा पस्किएका छौँ । तपाई वा तपाईको नजिकका कोहि मान्छेहरुको खुसी यसरी नै बाढ्न चाहानुहुन्छ भने हामीलाई सिधा सम्पर्क गर्नुहोला ।– सं.