एमाले निकट युथफोर्सले एनआरएनमा मच्चायो वितण्डा
वि.सं.२०८० कात्तिक १४ मंगलवार १५:३३
shares

काठमाडौँ, १४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायत अन्य केही व्यक्ति माथी एमाले निकट युथफोर्सका कार्यकर्ताले हातपात गरेका हुन् ।
घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको बताइएको छ । संघका अध्यक्ष आरके शर्मा कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले शर्मामाथी हातपात र अभद्र व्यवहार गरेका थिए ।
संघकै सभाहलमा बद्री केसी पक्षको कार्यक्रम चलिरहेको थियो । एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघका कार्यकर्ताले कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुगेपछि हातपात गरेका थिए ।
घटनापछि संघको कार्यालयमा अहिले प्रहरीले सुरक्षा दिएको छ । संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम अस्वीकार गरेका छन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको समानान्तर नयाँ कार्यसमिति तय भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् ।


















