‘म हार मान्नेवाला छैन, मेरो बलात्कारीलाई सजाय दिलाएरै छाड्छु’
वि.सं.२०७९ जेठ १५ आइतवार ०७:५०
shares

सर्वप्रथम त कानूनी लडाइका लागि साथ दिनुहुने सबैमा धन्यबाद भन्न चाहान्छु । मेरो आवाजलाई स्थान दिने यस केटिएम भ्वाइसलाई प्रति पनि आभारी छु ।
२०७६ सालको घट्ना हो जतिबेला म माथि बलात्कार भएको थियो । त्यहीँ बलत्कारबाट म गर्भवती भएँ । मैले छोरालाई जन्म दिएको छु । मेरो छोरा पनि अहिले २२ महिनाको भैसकेको छ । म बलात्कार भएको १४ दिन मै प्रहरी कहाँ गएको थिएँ । तर, प्रहरीले पैसा र पहुँचको कुरा सुनेर हुनसक्छ, मलाई वेवास्ता गर्याे । यहाँ सम्म कि मलाई नै गाली गलौजसम्म गर्नुभयो ।
म प्रहरीको महिला सेलमा पनि न्यायका लागि पटकपटक धाएको छु । धेरैले मलाई पैसा लेउँ अनि नबोल, यो घटनालाई बिर्सिदेऊ भन्नु भएको छ । अरु त अरु घरमा मेरै आमाबुवाले पनि इज्जतको डरले कानूनी लडाईमा मलाई साथ दिन सक्नु भएन । हाम्रो इज्जत जान्छ चुप लाग्नु पर्छ भन्नु भयो । मेरो बलात्कारी मेरै साथीको दाई हो । मेरो साथीले घरमा बोलाएर म उसको घरमा गएको थिएँ ।
साथीको घरमा पुगेपछि जुस र खानेकुरा दियो । जुसमा उनले नसालु चिज मिसाएको रहेछ । म वेहोस भएको थिएँ । त्यहिबेला उसले बलत्कार गरेको हो । उसले मेरो नराम्रो फाटो र भिडियो राखेको रहेछ ।
मेसेन्जर र बाटो–घाटोमा पनि मलाई धम्काई रहन्थ्यो कि पुलिस केस गरिस् भने म फोटो भिडियो सामाजिक सञ्जालमा अप्लोड गरि दिन्छु । त्यहीँ डरले पनि म १४–१५ दिनसम्म चुप लागेँ । सबै भ्वाईस रेकर्ड मसँग प्रमाण छ ।
त्यसपछि म प्रहरीकोमा गईरहेँ, जाँदा जाँदा नै थाहा भयो कि म गर्भवती भएको रहेछु । त्यस पश्चात मलाई कतिपय प्रहरी कर्मचारबिाट समेत पेटभित्र रहेको बच्चालाई मार्न र एवोर्सन (भ्रुण हत्या) गर्न दवाव आयो ।
म त्यतिबेला १७ वर्षको मात्रै थिएँ । तिमी भर्खर १७ वर्षको छौ बच्चा नलिउ र त्यस पछि हामी कार्वाही गर्छौ भनिएको थियो । घरमा पनि बच्चा नजन्माउ, हामी पछि तिम्रो विवाह गरिदिन्छौं भन्नु भएको थियो ।
बलत्कार पछि नै म गर्ववती भएको हो बच्चा नै मारेर प्रमाण नष्ट गरे पछि के मैले न्याय पाउथे र ? पाउने थिइन म त्यति पहँुच वाला थिएन । फेरि अरु कसैले गरेको अपराधको बदला मेरो बच्चालाई मैले कसरी मार्न सक्छु र ?
मलाई के लाग्यो भने बच्चा फालेर मलाई राम्रो हुँदैन र बलात्कारीले मलाई धम्काउन पनि छोड्ने थिएन । मेरो पीडा यतिकै सकिने पनि थिएन । फेरि मैले अब विवाह गरेर कुनै केटा वा उसको परिवारले मलाई इज्जतकासाथ राख्छ भन्ने कुनै ग्यारेन्टी थिएन ।
अदालतमा मैले ४ महिनाको बच्चा पेटमा हुँदा केस दर्ता गरे अनि अपराधी फरार भयो । त्यसपछि म अदालतमा जाने आउने मात्रै भइरह्यो अदालती प्रक्रिया पनि ढिलासुस्ती भयो ।
बच्चा जन्मिएर १ वर्ष ५ दिनको हुँदा बल्ल अपराधी आफै अदालतमा हाजिरी भएको हो । अदालतमा उपस्थित भईुसक्दा पनि अपराधिलाई धरौटीमा छोड्ने भनिरहेको थियो । त्यतिबेला मैले चिच्याएर भने अपराधी यहीँ हो यसलाई थुन्नुपर्छ ।
त्यसपछि उसलाई पुर्पक्षको लागि जेलमा राखियो । त्यसको ७–८ महिना पछि एक पक्षीय फैसला जस्तै जिल्ला अदालतबाट फैसाला आयो । अपराधीको बयानमा थियो कि म त्यसलाई चिन्दिन म बैनीको साथीको नाताले चिनेको हो । उसलाई मैले छोएको पनि छैन, केहि गरेको छैन । उस्ले मलाई फसाको हो । पछि उसलेसहमतिमा सम्बन्ध राखिएको हो भनेछ ।
बलात्कारबाटै मेरो बच्चा जन्मेको हो डिएनए टेष्ट गर्न पाँऊ भन्ने मेरो माग हो । तर डिएनए टेष्ट पनि हुँदैन र अपराधिले मलाई चिन्दैन पनि अनि कसरी सहमतिमा भन्नु भयो त ? सहमतिमा हो भनेर अपराधीलाई छोडियो । त्यसपछि पनि मैले पुनः निवेदन गरे । ४, ५ महिना हुन लाग्यो तर केहि प्रक्रिया अगाडि बढेको छैन ।
म अहिले भक्तपुरमा कोठा भाडा लिएर बसिरहेको छु । म विद्यार्थी थिएँ । मेरो पढाई पनि प्लस टु सम्ममात्र छ । अहिले म र मेरो छोरा मात्रै बस्छौं । कसैको सहयोग नभएर मैले काम पनि गर्न पाको छैन । बच्चालाई स्कुल पठाउन पनि सकेको छैन ।
पछिल्लो समय चाहि सहयोग पाउन थालेको छु । पहिला– पहिला राष्ट्रिय महिला आयोगबाट पनि केहि सहयोग मिलेको थिएन । बच्चा काखमा लिएर जाँदा पनि वेवास्ता गरियो, पछि फोन गर्छु भनियो । जाँदा–जाँदा पनि आयोगकी अध्यक्ष कमला म्यामले सहयोग गछुृ भन्नु भएको छ । हामीबाट जे गर्न सक्छौ हामी गर्नेछौं भन्नु भएको छ र आश पनि छ । अरु नेहारीका यस्तो नहोस् भनेर मैले उहाँहरुको नाम पनि लिएको छु । पछि उहाँहरु जस्तो मान्छे भोलि बोल्दिनु भयो भने म जस्तो पीडितले न्याय पाउन सजिलो हुन्छ ।
म राष्ट्रिय मानव अधिकार आयोग पनि गएको छु । त्यहाँबाट लिलि थापा म्यामले मेरो पढाई, वेवी फुड र बस्ने व्यवस्थामा सहयोग गर्छु भन्नु भएको छ । र यो मुद्दामा पनि हामीबाट हुन सक्ने सबै गर्छौ भन्नु भएको छ । मैले बच्चालाई डिप्रेसनमै जन्म दिए पनि बच्चाको पनि राम्रै अवस्था रहेको छ ।
हाल सबैबाट सहयोग पाईरहेको छु । पहिला एक्लै हिड्थे, अहिले मलाई अधिकारकर्मी ज्यास्मिन ओझाले पनि साथ दिनुरहनु भएको छ । अन्य महिलाकर्मीको पनि सहयोग मिल्दै गएको छ । र न्यायको वातावरण बन्छ जस्तो लागेको छ । यदि न्याय नपाए म सर्वोच्च सम्म जान्छु । जिल्ला अदालतका न्यायाधीस पर्शुराम भट्टराईको इजालसबाट त ममाथि अन्याय भाको छ । किन भने पेटमा बच्चा हँुदादेखि नै म लड्दा सिधै अपराधीलाई सफाई दिइयोे । मेरो ठुलो प्रमाण मेरो बच्चा छ मलाई विश्वास छ म सहिबाटोमा छु ।
अपराधिले पटक पटक वयान फेर्न पाँउदैन म डिएनए टेष्ट गराउछु । र मलाई लाग्छ मलाई न्याय दिन त्यति गाह्रो पनि छैन जत्ति बनाइएको छ । मेरो माग यो छ कि बच्चाको डिएनए टेष्ट गर्न पाँऊ । म हार मान्नेवाला छैन, मेरो बलात्कारीलाई सजाय दिलाउन कानूनी ढोका ढक्ढकाई रहन्छु ।
साथै अन्तमा म के पनि भन्न चाहान्छु भने, बलत्कार हँुदैमा मेरो इज्जत गएको छैन, यो मेरो गल्ती होईन । आफुमा घटेको घट्ना बोल्नु पर्छ लजाउनु र डराउनु हँुदैन । मैले बलत्कारबाटै बच्चालाई जन्म दिएर अन्य आमाहरु जस्तै माया ममता दिएको छु । उसको न्यायका लागि पनि म कानूनी लडाइँ लडिरहनेछु ।

















