‘हाम्रो निर्णय नआएसम्म ऋण तिर्दैनौं भन्ने केही समूह अझै सक्रिय छन्’
वि.सं.२०८२ माघ १९ सोमवार १७:३९
shares

काठमाडौं, १९ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोगात बिध चौधरीले भ्रामक सामाजिक सञ्जाल प्रचारका कारण लघुवित्त क्षेत्रमा एनपीएल बढेको भए पनि पछिल्लो समय अवस्था क्रमशः सुधार हुँदै गएको बताएका छन् । केटिएम भ्वाइसले सुरु गरेको ‘लघुवित्त फोकस’ सिरिजमा कुरा गर्दै सीईओ चौधरीले यस्तो बताएका हुन् ।
लघुवित्त क्षेत्रको समग्र अवस्थाबारे प्रतिक्रिया दिँदै सीईओ चौधरीले सामाजिक सञ्जालमा ‘ऋण मिनाहा हुन्छ’, ‘एक लाखसम्मको ऋण सरकारले छुट दिन्छ’ जस्ता गलत सूचना फैलिँदा तिर्ने क्षमता भएका ग्राहकले समेत ऋण नतिर्ने प्रवृत्ति देखिएको बताए । “सरकारले ऋण नतिर्नु भन्ने कुनै निर्णय नगरे पनि लघुवित्त संघर्ष समितिका केही भ्रामक सन्देशपछि समस्या बढ्यो,” उनले भने ।
उनका अनुसार, केही समयअघि लघुवित्तविरुद्धको आन्दोलन, दुर्गा प्रसाईं लगायतले मिडियामार्फत उठाएका विषयका कारण रिकभरी अवस्था कमजोर बनेको थियो । “त्यस समय अवस्था गाह्रो थियो, तर अहिले केही सुधार आएको छ,” उनले भने ।
बैंकसँग जोडिएको जस्तो कार्यालयमा ताला लगाउने वा कालो मोसो दल्ने जस्ता घटना भने आत्मनिर्भर लघुवित्तमा नभएको चौधरीले स्पष्ट पारे । यद्यपि, “गाउँगाउँमा कर्मचारीलाई घरमै नआउनु, हाम्रो निर्णय नआएसम्म ऋण तिर्दैनौं भन्ने केही समूह अझै सक्रिय छन्,” उनले भने ।
आफ्नो संस्थाको अवस्थाबारे बोल्दै सीईओ चौधरीले आत्मानिर्भर लघुवित्त मात्र नाजुक अवस्थामा नरहेको बताए । “ग्राहक सबै संस्थाका उस्तै हुन् । अरूको जस्तो हाम्रो अवस्था पनि त्यस्तै छ,” उनले भने, “हामी गाउँमै पुगेर ऋण मिनाहा हुँदैन, लिएको पैसा तिर्नुपर्छ भनेर बुझाइरहेका छौं । त्यसको प्रभाव देखिन थालेको छ ।”
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (सेकेन्ड क्वाटर)को परिणाम पनि सन्तोषजनक रहेको चौधरीले जानकारी दिए । उनका अनुसार आउटस्ट्यान्डिङ कर्जा वृद्धि भएको छ भने एनपीएल क्रमशः घट्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले प्रतिग्राहक १५ लाख रुपैयाँसम्म लगानी गर्न पाउने व्यवस्था गरेपछि केही उद्यमीहरूले उद्योग–व्यवसाय विस्तार गर्न थालेको उल्लेख गर्दै उनले लघुवित्त क्षेत्र समग्रमा सुधारोन्मुख रहेको दाबी गरे ।
सम्पादकीय नोटः लघुवित्तबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘लघुवित्त फोकस’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै लघुवित्तका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने लघुवित्त क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेछौं । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।



















