राष्ट्रिय खेलकुदको ट्रफी आर्मी र प्रहरीको मुख्यालयमा प्रदर्शन
वि.सं.२०७९ असोज ७ शुक्रवार १९:३८
shares

काठमाडौं, ७ असोज । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी २ विभागीय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको छ । ट्रफि शुक्रबार भद्रकालीस्थित सेनाको मुख्यालय र नक्सालमा रहेको प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको हो ।

सेनाको मुख्यालयमा प्रधान सेनापति प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थिति ट्रफी प्रदर्शन गरिएको थियो । सो अवसरमा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्यत्रय नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिरा राईको उपस्थिति थियो ।
अब ट्रफीलाई असोज ८ गते प्रदेश १ को विराटनगरस्थित शहिद रंगशालामा लगिने छ । त्यसपछि ट्रफीलाई असोज ९ गते सशस्त्र प्रहरी बल (एपीएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर पुर्याइने छ ।
अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पुर्याइने छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदै छ । यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौंडा लगिसकिएको छ ।
















