Dhulikhel Eco Banner new

बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित

4.91K
shares

झापा ३ वैशाख । जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस पौष्टिक तत्व पर्याप्त हुने घाँसका लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् ।

अर्जुनधारा नगरपालिका ७ का सञ्जय खनाल खेतमा लगाएको मकैले बोटसँगै प्रशस्त आम्दानी दिएपछि उत्साहित हुनुभएको छ । १ बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले साइलेस बनाउन बोटै खरिद गरेपछि उनि उत्साहित हुनुभएको हो ।

ग्रामीण क्षेत्रका किसान साइलेसका लागि बोेटबाटै मकै बिक्री भएपछि भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालले बताए । उनले यसपाली पोलेर खान मिल्ने भएको दुधिलो मकै प्रतिकेजी रु साढे चारका दरले ११ हजार केजी खेतबाट बिक्री गरेको जानकारी दिनुभयो ।

मकै सुकाएर बेच्दा भने जस्तो मूल्य पनि नपाउने र लागत पनि बढी लाग्ने हुँदा । हरियो मकै साइलेसका लागि बोटैसँगै बिक्री गरिएको भन्दै यसबाट बढी फाइदा भएको खनालले सुनाउनुभयो । उनले अर्को वर्ष मकैखेती विस्तार गर्ने तयारी रहेको बताए ।

एनएमसीले मेचीनगर नगरपालिका १४ मा अग्र्यानिक तरकारी खेतीसँगै उन्नत जातका गाईफार्मसमेत सञ्चालन गर्दै आएको छ । सहकारीले १८ लाख केजी मकैको साइलेस बनाउनका लागि धमाधम सूचीकृत भएका किसानको खेतबाटै मकै खरिद गरिरहेको नमूना एकीकृत कृषि फामका संयोजक हिरा पोखरेलले जानकारी दिनुभयो ।

उनले भन्नुभयो आफ्नै गाई फार्मका लागि १२ लाख केजी र बिक्री गर्नका लागि ६ लाख केजी मकैको साइलेस बनाउने तयारी गरिरहेका छौँ ।उनले मेचीनगर भद्रपुर नगरपालिका झापा गाउँपालिका अर्जुनधारा विर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका किसानले उत्पादन गरेका मकै खरिद गर्ने गरिएको गरेको बताए ।

साइलेस घाँसमा पौष्टिक तत्व पर्याप्त हुने गरेकाले पशुको स्वास्थ्यमा पनि कुनै खराबी नहुने मेचीनगर ४ का किसान केदार न्यौपानेले बताए । साइलेस खान पायो भने गाईभैँसीले दूध पनि राम्रो दिने उनको अनुभव छ । साइलेस एकपटक बनाएर वर्षभरि पशुलाई खुवाउन मिल्ने भएकाले पनि गाई किसान यसतर्फ आकर्षित भएका हुन् ।

जिल्लामा ४४ हजार २ सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।