Dhulikhel Eco Banner new

क्यूआर भुक्तानी गर्दा सतर्क रहन राष्ट्र बैंकको आग्रह

4.04K
shares

काठमाडौं, १३ माघ । नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु विक्रेतालाई क्यूआर कोडमार्फत भुक्तानी लिँदा सचेत रहन आग्रह गरेको छ। वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा विद्युतीय माध्यमबाट भुक्तानी बढ्दै गएसँगै ठगीको जोखिम पनि बढेको जनाएको छ।

सूचनामा भनिएको छ कि ग्राहकले देखाएको भुक्तानीको स्क्रिनसटमा मात्र भर पर्नु ठगीमा पर्न सक्ने प्रमुख कारण हो। स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली पनि हुन सक्ने भएकाले विक्रेताले सावधानी अपनाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यस जोखिमबाट बच्न, विक्रेताले ग्राहकले पठाएको भुक्तानी सूचना वा स्क्रिनसटमा उल्लिखित मिति, समय, रकम र खातामा रकम जम्मा भएको विवरण जाँच गर्नु आवश्यक छ। साथै, सम्बन्धित सेवा प्रदायकको मोबाइल बैंकिङ एप, मोबाइल बैंकिङ सेवा वा एसएमएसरनोटिफिकेशनमार्फत रकम साँच्चिकै खातामा जम्मा भयो कि भएन भनेर यकिन गर्नुपर्ने सुझाव पनि राष्ट्र बैंकले दिएको छ।

केन्द्रीय बैंकका अनुसार, भुक्तानी प्राप्त भएको सुनिश्चित नगरी कारोबार गर्दा ठूलो आर्थिक नोक्सानी हुन सक्ने सम्भावना हुन्छ। त्यसैले विद्युतीय माध्यमबाट भुक्तानी लिँदा सधैं खातामा रकम प्राप्त भएको पक्का गरेर मात्रै कारोबार गर्न विक्रेताहरूलाई आग्रह गरिएको छ।