Dhulikhel Eco Banner new

मध्यरातदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजल–मट्टीतेलमा ३० रुपैयाँ बढ्यो

858
shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य समायोजन गरेको जनाएको छ। नयाँ निर्णयसँगै उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।

निगमका अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको छ भने हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ। समायोजनपछि डिजल र मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर २३७ रुपैयाँ कायम भएको छ। त्यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार समायोजन गरिएको जनाएको छ। तथापि, मूल्यवृद्धि गर्दा पनि निगम अझै घाटामै रहेको दाबी गरिएको छ।

निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको छ। लागत मूल्य उच्च र बिक्री मूल्य तुलनात्मक रूपमा कम भएकाले यस्तो अवस्था आएको निगमले स्पष्ट पारेको छ।

पाक्षिक रूपमा निगमले करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्दै आएको जनाएको छ। निरन्तर घाटा बढ्दै जाँदा आगामी दिनमा पुनः मूल्य समायोजन हुन सक्ने संकेत पनि देखिएको छ।

मूल्यवृद्धिको प्रत्यक्ष असर यातायात, उद्योग तथा दैनिक उपभोग्य वस्तुमा पर्ने भएकाले उपभोक्तामा महँगीको थप दबाब पर्ने देखिएको छ। सरकारले मूल्य नियन्त्रण र राहतका उपाय अवलम्बन नगरे महँगी अझै चुलिने चिन्ता सर्वसाधारणले व्यक्त गर्न थालेका छन्।