Dhulikhel Eco Banner new

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

1.31K
shares

काठमाडौं, ६ वैशाख । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड गरेको छ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १२ लाख कित्ता (१० प्रतिशत) शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।

स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन २०८२ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म खुला गरिएको थियो भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन २७ गतेदेखि चैत १ गतेसम्म आवेदन खुला गरिएको थियो। सो अवधिमा स्थानीयतर्फ करिब १ लाख २० हजार र वैदेशिक रोजगारीतर्फ ३० हजार ३०६ जनाले आवेदन दिएका थिए।

कम्पनीका अनुसार दुवै समूहको शेयर बाँडफाँड वैशाख ४ गते शुक्रबार सम्पन्न भइसकेको छ। बाँडफाँड अनुसार स्थानीय बासिन्दालाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता शेयर वितरण गरिएको छ।

बाँडफाँडमा परेका आवेदकहरूले आफ्नो नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सक्नेछन्। साथै, बाँडफाँडमा नपरेका आवेदकहरूको रकम वैशाख ७ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ।