Dhulikhel Eco Banner new

विद्यार्थीको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै प्रदर्शन

1.22K
shares

काठमाडौं, १० वैशाख । सार्वजनिक यातायातमा विद्यार्थीलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले बिहीबार राजधानीमा साङ्केतिक विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले “विद्यार्थीको ४५ प्रतिशत छुट खोइ ?” भन्ने नारासहित सरकार र यातायात व्यवसायीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले आफूहरूले पाउँदै आएको सहुलियत कानुनी अधिकार भएकाले तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सरकारले व्यवसायीलाई उपलब्ध गराउँदै आएको कर छुट कटौती गरिएका कारण विद्यार्थी सहुलियत लागू गर्न असम्भव भएको स्पष्ट पारेको थियो। महासङ्घका अनुसार वि।सं। २०६५ सालमा भएको सहमतिअनुसार व्यवसायीहरूले विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट प्रदान गरेबापत सरकारले वार्षिक कर, रुट परमिट तथा जाँचपास शुल्कमा ६० प्रतिशतसम्म छुट दिने व्यवस्था थियो।

तर मुलुक संघीय संरचनामा प्रवेश गरेपछि कोशी प्रदेश बाहेक अन्य प्रदेश सरकारले आर्थिक वर्ष २०७३ देखि उक्त कर छुट सुविधा हटाएका छन्। यसले गर्दा व्यवसायीहरूलाई आर्थिक भार बढेको उनीहरूको भनाइ छ।
महासङ्घले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै केन्द्र र प्रदेश सरकारबीच समन्वय अभाव तथा कर छुट सुविधा हटाइएकै अवस्थामा भाडा छुट मात्र लागू गर्न नसकिने अडान राखेको छ। व्यवसायीहरूले कर छुटलाई कानुनी रूपमा सुनिश्चित नगरेसम्म विद्यार्थी सहुलियत कार्यान्वयन सम्भव नभएको बताएका छन्।