Dhulikhel Eco Banner new

एपोलो हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने

1.11K
shares

काठमाडौं, १० वैशाख । एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आगामी शुक्रबार, बैशाख ११ गते बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँडको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

कम्पनीको आईपीओमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। अन्तिम दिनसम्म कुल ४१।९५ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ। प्राप्त विवरणअनुसार २८ लाख ७५ हजार ३७२ जना आवेदकले आवेदन दिएका छन्।

आईपीओमा कुल ३ करोड २७ लाख ३२ हजार ९३० कित्ता बराबरको आवेदन परेको छ, जसको कुल रकम ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ रहेको छ।

एपोलो हाइड्रोपावरले सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो। माग अत्यधिक भएकाले शेयर बाँडफाँड गोलाप्रथा (लक्की ड्र) मार्फत गरिनेछ।

१० कित्ताका दरले बाँडफाँड गर्दा करिब ७८ हजार जना आवेदकले मात्र शेयर प्राप्त गर्नेछन् भने बाँकी २८ लाखभन्दा बढी आवेदकको हात खाली रहने निश्चित देखिएको छ।

आईपीओको उच्च मागले नेपाली पूँजी बजारप्रति लगानीकर्ताको आकर्षण अझै बलियो रहेको संकेत गरेको छ।