Dhulikhel Eco Banner new

लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि सम्झँदै देशभर विविध कार्यक्रम

767
shares

काठमाडौँ । देशभर आज २०औँ लोकतन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। ११ वैशाख २०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनआन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्राप्त जनविजयको स्मरणस्वरूप हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। २०६४ सालदेखि औपचारिक रूपमा सुरु गरिएको यो दिवसले नेपालको राजनीतिक रूपान्तरणको महत्वपूर्ण अध्यायलाई सम्झाउने गर्दछ।

२०५९ साल असोजमा संसद विघटनपछि देशमा उत्पन्न राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। त्यस अवधिमा राजाले आफ्नै इच्छाअनुसार सरकार गठन र विघटन गर्ने क्रम चल्यो। सोही क्रममा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई पटक–पटक प्रधानमन्त्री नियुक्त गर्ने र हटाउने अभ्यास दोहोरियो, जसले राजनीतिक अन्योल झनै बढायो।

१९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता प्रत्यक्ष रूपमा आफ्नो हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो। २०६२ मंसिरमा भएको उक्त समझदारीले विभाजित राजनीतिक शक्तिहरूलाई एकताबद्ध बनाउँदै जनआन्दोलनलाई नयाँ उचाइमा पुर्‍यायो।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको आन्दोलन चैत महिनासम्म आइपुग्दा झन् सशक्त बन्दै गयो। नयाँ वर्षसँगै लाखौँ जनता सडकमा उत्रिएपछि राजधानीको चक्रपथ क्षेत्र मानवसागरले भरिएको थियो। व्यापक जनदबाबपछि राजा ज्ञानेन्द्र दलहरूको प्रस्तावमा सहमत भई ११ वैशाखको राति संसद पुनर्स्थापनाको घोषणा गर्न बाध्य भए। यही ऐतिहासिक दिनलाई लोकतन्त्र दिवसका रूपमा चिनिन्छ।

संसद पुनर्स्थापनापछि ४ जेठ २०६३ मा बसेको बैठकले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो। साथै, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने ऐतिहासिक संकल्प प्रस्ताव पारित गरियो, जसलाई नेपाली ‘म्याग्नाकार्टा’ को संज्ञा पनि दिइन्छ।

यसै प्रक्रियाको निरन्तरतास्वरूप २८ चैत २०६४ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो। संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। यद्यपि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि संक्रमणकालीन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

पछिल्लो चरणमा ४ मंसिर २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले ३ असोज २०७२ मा नेपालको वर्तमान संविधान जारी गर्‍यो। सो संविधानअनुसार संघीय, प्रादेशिक र स्थानीय तहका तीनै स्तरमा निर्वाचन सम्पन्न भई लोकतान्त्रिक शासन प्रणाली कार्यान्वयनमा आएको छ।

जनआन्दोलनमार्फत स्थापित परिवर्तनको प्रवेशद्वारका रूपमा ११ वैशाखलाई विशेष महत्वका साथ स्मरण गरिन्छ। लोकतन्त्र दिवसले जनअधिकार, स्वतन्त्रता र समावेशी शासन प्रणालीप्रतिको प्रतिबद्धतालाई पुनः स्मरण गराउँदै आएको छ।