Dhulikhel Eco Banner new

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

884
shares

काठमाडौं, ११ वैशाख । एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ।

जर्मनीस्थित कमर्ज बैंक एजीले प्रदान गर्ने यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान मानिन्छ। पूर्ण रूपमा स्वचालित र त्रुटिरहित अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र यो अवार्ड प्रदान गरिन्छ।

एनएमबि बैंकले प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता प्रदर्शन गरेबापत उक्त सम्मान प्राप्त गरेको हो।

यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यस उपलब्धिलाई ग्राहकमुखी सेवा सुधारको निरन्तर प्रयासको परिणाम भएको बताए। “हाम्रा ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो,” उनले भने। साथै, उच्च मापदण्ड कायम राख्दै छिटो र सुरक्षित सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उनले बताए।

यस उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि थप विश्वसनीय साझेदारका रूपमा स्थापित गरेको बैंकले जनाएको छ।

हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।