Dhulikhel Eco Banner new

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

884
shares

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्।

हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू खाली गराउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। भोलिदेखि थप कदम चाल्ने तयारी भइरहँदा यस विषयमा विभिन्न प्रश्नहरू उठिरहेका छन् भने प्रभावित सुकुमवासीहरू प्रदर्शनमा समेत उत्रिएका छन्।

यसै सन्दर्भमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देशभरका वास्तविक सुकुमवासीलाई प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा वितरण गरिने बताएका छन्। उनले वर्षौं पुरानो समस्याको स्थायी समाधान खोज्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनका अनुसार काठमाडौंका नदीकिनारमा बसोबास गर्नेहरू मात्रै नभई अन्य स्थानमा पनि हजारौं परिवार वास्तविक रूपमा पीडित छन्। हरेक वर्ष आउने बाढीका कारण नदीकिनारमा बस्ने मानिसहरूले ज्यान जोगाउन मात्र सफल हुने र आफ्ना सम्पत्ति गुमाउने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उनले यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताएका छन्।

“यो वर्षौंदेखि दोहोरिँदै आएको समस्या हो। अब यसलाई अर्को वर्षसम्म थाती नराखी सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्छ,” उनले भने।

प्रधानमन्त्री शाहले दुर्घटना आउनुभन्दा अगाडि नै जोखिम न्यूनीकरणका उपाय अपनाउनु आवश्यक रहेको उल्लेख गर्दै सरकारले सोही उद्देश्यले कार्य अघि बढाएको स्पष्ट पारेका छन्।