उज्यालो नेपाल पार्टीद्वारा सुकुमवासी समस्या समाधानका लागि सरकारलाई आग्रह
वि.सं.२०८३ वैशाख १२ शनिवार ११:४४
shares

काठमाडौं, १२ वैशाख । उज्यालो नेपाल पार्टीले सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। हालै सुकुमवासी हटाउने प्रक्रिया सुरु भएपछि पार्टीले विज्ञप्ति जारी गर्दै यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
जारी विज्ञप्तिमा बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उचित र दीर्घकालीन समाधान गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। “वास्तविक सुकुमवासीको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न हामी जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
पार्टीले सुकुमवासी समस्या केवल हटाउने प्रक्रियाबाट समाधान नहुने भन्दै यसका लागि समावेशी, न्यायपूर्ण र व्यवहारिक नीति आवश्यक रहेको पनि औंल्याएको छ। साथै, सम्बन्धित सबै पक्षहरूलाई संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न आह्वान गरिएको छ।
हाल देशका विभिन्न क्षेत्रमा सुकुमवासी बस्ती हटाउने अभियान अघि बढाइँदै गर्दा यस विषयमा राजनीतिक तथा सामाजिक बहस तीव्र बन्दै गएको छ।



















