Dhulikhel Eco Banner new

निजी मिडियालाई बन्देज लगाउने राष्ट्र बैंकको दुस्साहस !

3.41K
shares

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले निजी मिडियालाई बन्देज लगाउने दुस्साहस गरेको छ । मुलुकको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले आफ्नो ७१औं वार्षिकोत्सवका अवसरमा इतिहासमै पहिलोपटक निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाएको छ।

हरेक वर्ष सरोकारवाला निकाय, सरकारी तथा निजी दुवै क्षेत्रका पत्रकारलाई निमन्त्रणा गर्ने परम्परा रहे पनि यस वर्ष भने बैंकले सरकारी सञ्चारमाध्यमलाई मात्र कार्यक्रममा सहभागी गराएको हो।

राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा वार्षिक प्रतिवेदन, वित्तीय अवस्था, मौद्रिक नीति कार्यान्वयनलगायतका महत्वपूर्ण विवरण सार्वजनिक गरिन्छ। यस्तो सार्वजनिक सरोकारको कार्यक्रममा निजी सञ्चारमाध्यमलाई रोक लगाउनु पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने विषय बनेको छ।

विशेषगरी अर्थतन्त्र दबाबमा रहेको र मौद्रिक नीतिबारे बहस भइरहेका बेला आलोचनात्मक प्रश्न उठाउन सक्ने निजी पत्रकारलाई बाहिर राख्नुले नेतृत्व आलोचनाबाट टाढा रहन खोजेको संकेत दिएको छ। यस्तो कदमलाई सरकारी मिडियालाई काखा र निजी सञ्चारमाध्यमलाई पाखा लगाउने प्रयासका रूपमा हेरिएको छ।

राष्ट्र बैंकका डेपुटी प्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपानेले सरकारी सञ्चारमाध्यमलाई मात्र निमन्त्रणा गरिएको पुष्टि गरे पनि निर्णयको कारणबारे स्पष्ट पार्न चाहेनन्। उनले यति मात्र सुचना आफुलाई थाहा नभएको जस्तो गैरजिम्मेवारी जवाफ दिए । ‘यस वार्षिकत्सवमा सरकारी सञ्चारमाध्यमलाई मात्र निमन्त्रणा गरेका छौ’ उनले भने, ‘यति सूचना मात्र मलाई थाहा छ’ ।