गण्डकीको अर्थतन्त्र उकालोमा, तर उत्पादन क्षेत्र अझै कमजोर
वि.सं.२०८३ वैशाख २० आइतवार १६:२५
shares

काठमाडौं, २० वैशाख । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले गण्डकी प्रदेश को आर्थिक तथा वित्तीय अवस्था सुधारोन्मुख रहेको देखाएको छ। आर्थिक सूचकहरूमा देखिएको प्रगतिले प्रदेशको अर्थतन्त्र विस्तारतर्फ उन्मुख रहेको संकेत गरेको हो।
प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब ५ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको अनुमान छ, जसले राष्ट्रिय अर्थतन्त्रमा ८.९७ प्रतिशत योगदान दिएको छ। आर्थिक वृद्धिदर ५.५१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन राष्ट्रिय औसतभन्दा उच्च हो। प्रतिव्यक्ति आय पनि बढेर १,६१९ अमेरिकी डलर पुगेको छ।
प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको वर्चस्व कायमै छ, जसले आधाभन्दा बढी हिस्सा ओगटेको छ। कृषि तथा खानी क्षेत्रको योगदान मध्यम देखिए पनि उद्योग तथा उत्पादनमूलक क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रतिवेदनले औंल्याएको छ।
बैंकिङ पहुँच र डिजिटल कारोबारमा भने उल्लेखनीय विस्तार देखिएको छ। प्रदेशभर बैंक तथा वित्तीय संस्थाका शाखा संख्या वृद्धि हुनुका साथै मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा तीव्र वृद्धि भएको छ। निक्षेप र कर्जा प्रवाह पनि सन्तोषजनक रहेको तथ्यांकले देखाउँछ।
बजेट संरचनातर्फ प्रदेश सरकारले पुँजीगत खर्चमा उच्च प्राथमिकता दिएको देखिन्छ। विकास निर्माणमा केन्द्रित बजेट विनियोजनले पूर्वाधार विस्तारमा जोड दिइएको संकेत गर्छ।
मानव विकासका सूचकहरू पनि सुधारतर्फ उन्मुख छन्। साक्षरता दर र मानव विकास सूचकांक दुवै राष्ट्रिय औसतभन्दा माथि पुगेका छन्। तर, मनाङ जिल्ला मा नकारात्मक जनसंख्या वृद्धिदर देखिनु र आय असमानता उच्च रहनु चुनौतीका रूपमा देखिएको छ।
समग्रमा आर्थिक सूचकहरू सकारात्मक देखिए पनि दीर्घकालीन दिगोपनाका लागि उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको नेपाल राष्ट्र बैंक ले निष्कर्ष निकालेको छ।


















