प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानआकर्षणः व्यावसायिक प्रस्तावदेखि लगानी सम्म
वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:५६
shares

काठमाडौं, २२ वैशाख । प्रिमियर इन्टरनेसनल आई.बी. कन्टिनम विद्यालयले आयोजना गरेको उद्यमशील प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नवप्रवर्तनशील व्यावसायिक अवधारणाले उद्योग क्षेत्रको ध्यान आकर्षित गरेको छ।
विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित उक्त प्रदर्शनीमा कक्षा ११ तथा आईबीडीपी प्रथम वर्षका विद्यार्थीहरूले स्थानीय नेपाली स्रोतमा आधारित विभिन्न व्यवसायिक योजना तयार गरी प्रस्तुति दिएका थिए। उनीहरूले वास्तविक उद्यमशील वातावरणको अनुभव दिलाउने उद्देश्यसहित लगानी तथा बजार सम्भावनासहितका अवधारणाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा कर(मा कफीकी संस्थापक बिर्गिट लियनहार्ट, अबिरकी संस्थापक विनी वज्राचार्य तथा अवानी विज्ञापनका संस्थापक जीतेन्द्र रञ्जीत निर्णायक मण्डलका रूपमा सहभागी थिए। उनीहरूले विद्यार्थीका प्रस्तुति मूल्याङ्कन गर्दै दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणबारे व्यावहारिक सुझाव दिएका थिए।
प्रदर्शनीमा कुल छ वटा नवप्रवर्तनशील व्यवसायिक अवधारणाहरू प्रस्तुत गरिएका थिए। जसमा प्राकृतिक सामग्रीबाट बनेको लामखुट्टे भगाउने स्प्रे, फुरान्दानामा आधारित स्वास्थ्यकर खाजा, शाकाहारी दुग्ध विकल्प उत्पादन, परम्परागत ढाका कपडामा आधारित व्यवसाय, सातै प्रदेशका अचार समेट्ने परियोजना तथा दिगो काठजन्य उत्पादन रहेका थिए।
तीमध्ये ढाका फेसन परिधानले “सर्वोत्कृष्ट व्यावसायिक प्रस्तुति” को उपाधि प्राप्त गरेको छ। साथै लामखुट्टे भगाउने स्प्रे र शाकाहारी दुग्ध विकल्पले पनि निर्णायकहरूको विशेष ध्यान आकर्षित गरेका थिए। शाकाहारी दुग्ध विकल्पलाई कर(मा कफीले सम्भावित आपूर्तिकर्ता उत्पादनका रूपमा रुचि देखाएको बताइएको छ।
निर्णायक जीतेन्द्र रञ्जीतले विद्यार्थीहरूको प्रस्तुति प्रशंसा गर्दै भने, “कक्षा ११ मै तपाईंहरू स्नातकोत्तर तहका विद्यार्थी जस्तै सोचिरहनुभएको छ। विद्यालय सकेपछि म तपाईंहरूलाई रोजगारीको अवसर दिन चाहन्छु।”
कार्यक्रमले विद्यार्थीहरूमा समालोचनात्मक सोच, सिर्जनशीलता र उद्यमशील आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ। साथै स्थानीय स्रोतको उपयोगमार्फत विश्वस्तरीय समाधान निर्माण गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।

















