Dhulikhel Eco Banner new

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

650
shares

काठमाडौं, २२ वैशाख । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा वैशाख २१ गते सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ।

सभाको उद्घाटन पूर्व मन्त्री भगवती चौधरीले गरेका थिए। उनले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले विगत तीन दशकदेखि सञ्चालन गर्दै आएको लघुवित्त कार्यक्रमले ग्रामीण महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको बताउँदै कार्यक्रमलाई सफल उदाहरणका रूपमा उल्लेख गरे। साथै, ऋण मिनाहा हुने गलत हल्लाबाट प्रभावित नहुन आग्रह गर्दै ऋणलाई उत्पादनमुखी क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिए।

सभाले सञ्चालक समितिका अध्यक्ष केशवराज पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरिएको छ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित भएको छ।

सभाले निर्वाचन प्रक्रियामार्फत नयाँ सञ्चालक समिति चयन गरेको छ। संस्थापक समूहबाट भगवती चौधरी, सर्वसाधारण समूहबाट जगत जंग जि।सी। र बोधराज नेपाल, एभरेष्ट बैंकको तर्फबाट विष्णु प्रसाद ज्ञवाली तथा ग्रामीण महिला उत्सुकता मञ्चबाट गोविन्द चौधरी सञ्चालक पदमा निर्वाचित भएको निर्वाचन अधिकृत प्रेम प्रसाद पोखरेलले घोषणा गरे।

विशेष प्रस्तावअन्तर्गत संस्थापक र सर्वसाधारण शेयर संरचना ७०ः३० बाट ६०ः४० प्रतिशतमा परिवर्तन गर्ने, पूँजी संरचना संशोधन गर्ने तथा अन्य लघुवित्त संस्थासँग गाभ्ने–गाभिने र प्राप्ति सम्बन्धी प्रस्ताव पनि सभाले पारित गरेको छ।

संस्थाका अनुसार २०८२ पुस मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय तहमा २ लाख ८४ हजारभन्दा बढी विपन्न परिवारलाई १५९ शाखामार्फत सेवा प्रदान गरिएको छ। हालसम्म १ लाख २३ हजार ऋणी ग्राहकसँग करिब २२ अर्ब २४ करोडभन्दा बढी कर्जा बाँकी रहेको छ भने १० अर्ब ७३ करोडभन्दा बढी बचत संकलन गरिएको छ। संस्थामा ६९५ कर्मचारी कार्यरत छन्, जसमा ५० प्रतिशत महिला रहेका छन्।

विशिष्ट अतिथि गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरीले संस्थाले विपन्न वर्गको आर्थिक उन्नतिमा अझ ठूलो भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले संस्थालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।

सभामा विभिन्न सञ्चालक, बैंक प्रतिनिधि, शेयरधनी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।