उद्योगी शेखर गोल्छालाई हिरासतमा नराख्न जिल्ला अदालतको आदेश
वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:४८
shares

काठमाडौं, २२ वैशाख । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ। अदालतको आदेशसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई हिरासतमुक्त गरी अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी गरिएको पक्राउ अनुमतिको म्याद नथप्ने निर्णय गरेको हो। आदेशमा प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था देखिन नसकेको उल्लेख गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) बमोजिम हिरासतमा राखी म्याद थप गर्न नमिल्ने अदालतले ठहर गरेको छ।
यसअघि सोमबार सर्वोच्च अदालतले धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै थुनामा राखेर अनुसन्धान गरिएको विषयमा प्रश्न उठाएको थियो। धितोपत्रसम्बन्धी कसुरको अनुसन्धान प्रक्रियामाथि सर्वोच्चले चासो देखाए पनि बीमासम्बन्धी कसुरका विषयमा भने रिट निवेदनमा मागदाबी नभएको भन्दै कुनै टिप्पणी गरेको थिएन।
सर्वोच्च अदालतको आदेशपछि सीआईबीले शेखर गोल्छालाई धितोपत्रसम्बन्धी कसुरको सट्टा बीमासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको भन्दै तत्काल रिहा गर्न अस्वीकार गरेको थियो। तर, बीमासम्बन्धी कसुरमा म्याद थपका लागि जिल्ला अदालतमा पेश गर्दा अदालतले पुनः म्याद थप्न अस्वीकार गरेपछि गोल्छा हिरासतबाट मुक्त भएका छन्।
प्रहरीले अब उनलाई हिरासतबाहिर राखेर अनुसन्धान प्रक्रिया जारी राख्ने जनाएको छ।
















