Dhulikhel Eco Banner new

एफएनसीसीआईको अध्यक्षमा अञ्जन श्रेष्ठ, स्वतः पाए नेतृत्वको जिम्मेवारी

663
shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्षमा अञ्जन श्रेष्ठ आएका छन्। महासंघको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।

महासंघमा श्रेष्ठको यात्रा करिब २४ वर्षअघि सुरु भएको थियो। उनी २०५९ सालमा कार्यसमिति सदस्यका रूपमा महासंघमा प्रवेश गरेका थिए। त्यसयता उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति तथा रोजगारदाता परिषद सदस्यलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै निजी क्षेत्रको नेतृत्वमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

एफएनसीसीआईको ५७औँ साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ अब महासंघको सर्वोच्च नेतृत्वमा पुगेका हुन्। निजी क्षेत्रका मुद्दा उठान, उद्योग व्यवसाय विस्तार र लगानी वातावरण सुधारमा उनको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

व्यवसायिक रूपमा श्रेष्ठ Laxmi Group सँग आबद्ध छन्। उनले २०४५ सालदेखि परिवारले सञ्चालन गरेको कन्फेक्सनरी उद्योगबाट व्यवसायिक यात्रा सुरु गरेका थिए। सो उद्योग अहिले Sujal Foods का रूपमा सञ्चालनमा रहेको छ।

लक्ष्मी ग्रुपअन्तर्गत उनले प्याकेजिङ, ट्रेडिङ, स्टिल तथा अटोमोबाइल क्षेत्रमा व्यवसाय विस्तार गरेका छन्। विशेषगरी Hyundai गाडीको आधिकारिक वितरणमार्फत अटोमोबाइल क्षेत्रमा समूहको उपस्थिति बलियो बनेको छ। पछिल्लो समय स्टिल उत्पादन र गाडी असेम्बल उद्योगसमेत सञ्चालनमा ल्याइएको छ।

समूहअन्तर्गत सञ्चालित विभिन्न उद्योगमा तीन हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। निजी क्षेत्रको नेतृत्वमा आएका श्रेष्ठले अब मुलुकको उद्योग, व्यापार र लगानी वातावरण सुधारमा कस्तो भूमिका खेल्छन् भन्ने विषयलाई व्यवसायिक क्षेत्रले चासोका साथ हेरिरहेको छ।