Dhulikhel Eco Banner new

नेप्से आज कता जान्छ ? सपोर्टमा अडिएको बजारको अगाडि चुनौती

494
shares

लगातार चार दिनको गिरावटपछि सामान्य सुधार देखाएको नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक आजको कारोबारमा कता मोडिन्छ भन्ने विषयमा लगानीकर्ताको चासो बढेको छ। हिजो बजारले महत्वपूर्ण सपोर्ट क्षेत्रमा अडिएर हरियो क्यान्डल बनाए पनि कमजोर कारोबार र न्यून स्ट्रेन्थले आजको बजारलाई अझै अनिश्चित बनाएको छ।

प्राविधिक रूपमा हेर्दा नेप्से अहिले २०० दिनको मूभिङ एभरेज, अपट्रेन्ड ट्रेन्डलाइन र करिब २६७० विन्दु आसपासको बलियो सपोर्ट क्षेत्रमा टिकेको छ। यही क्षेत्रलाई धेरै विश्लेषकहरूले ‘डिसिजन जोन’ को रूपमा लिएका छन्। यदि बजारले आज पनि यो सपोर्ट जोगाउन सफल भयो भने छोटो अवधिमा सुधारको प्रयास जारी रहने संकेत मिल्न सक्छ।

तर बजारको भित्री अवस्था भने त्यति बलियो देखिँदैन। पछिल्ला केही दिनयता नेप्सेले नयाँ उच्च बिन्दु बनाउन नसक्नु, क्यान्डलहरूले स्पष्ट ट्रेन्ड नदेखाउनु र आरएसआई करिब ४० को आसपास रहनुले बजार अझै कमजोर अवस्थामा रहेको देखाउँछ। त्यस्तै, एडीएक्स पनि घट्दो अवस्थामा रहेकाले बजारमा बलियो ट्रेन्ड सुरु भएको संकेत देखिँदैन।

कारोबार रकमले पनि लगानीकर्ताको मनोविज्ञान स्पष्ट पार्छ। हिजोको कारोबार फागुन यताकै न्यून स्तरमा झरेको थियो, जसले लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्छ। बजार बढ्दा पनि भोल्युम नबढ्नुले यो सुधार स्थायी हुन नसक्ने आशंका कायम छ।

आजको कारोबारमा दुई सम्भावना देखिन्छन्। पहिलो, यदि बजारले सुरुवातदेखि नै सपोर्ट माथि टिकेर खरिद दबाब देखायो भने नेप्सेले केही अंकको सुधारलाई निरन्तरता दिन सक्छ। विशेषगरी जलविद्युत लगायतका सेक्टरमा फेरि सक्रियता देखिए बजारलाई टेवा मिल्न सक्छ।

दोस्रो, यदि बजारले २६७० आसपासको सपोर्ट तोड्यो भने भने परिस्थिति फेरिन सक्छ। यस्तो अवस्थामा बजारमा थप बिक्री दबाब बढ्ने र लगानीकर्तामा डरको मनोविज्ञान बलियो बन्ने सम्भावना रहन्छ। त्यसपछि नेप्सेले अझ तलको स्तर परीक्षण गर्न सक्छ।

समग्रमा, आजको बजार ‘निर्णायक मोड’ मा रहेको देखिन्छ। सपोर्ट जोगिए सुधारको आशा, सपोर्ट फुटे थप गिरावट—यही दुई बाटोबीच नेप्से उभिएको छ। त्यसैले आजको कारोबारले आगामी केही दिनको दिशा तय गर्ने सम्भावना उच्च देखिएको छ।