Dhulikhel Eco Banner new

सगरमाथाबाट १ अर्बभन्दा बढी रोयल्टी उठ्यो

884
shares

काठमाडौं, २३ वैशाख । चालु आरोहण सिजनमा सगरमाथा केन्द्रित गतिविधिबाट सरकारले अर्बभन्दा बढी राजस्व संकलन गरेको छ। पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणका लागि ४७ समूहका ४ सय ६४ जना आरोहीले अनुमति लिएका छन्, जसबाट १ अर्ब १ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।

यस वर्ष सरकारले रोयल्टी शुल्क वृद्धि गरेपछि राजस्वमा उल्लेखनीय बढोत्तरी देखिएको विभागले जनाएको छ। समग्रमा २९ हिमालका लागि १ सय २७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन्। यी सबैबाट कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ।

सगरमाथापछि ल्होत्से मा १ सय ११ र अमादब्लम मा १ सय ४ आरोहीले अनुमति लिएका छन्, जसले यी हिमालप्रति पनि आकर्षण बढ्दो रहेको देखाउँछ।

पर्यटन विभागका अनुसार यस सिजनमा ७९ मुलुकका आरोही नेपाल आएका छन्। तीमध्ये चीनबाट १ सय ३९ र अमेरिकाबाट १ सय ३२ आरोही रहेका छन्। त्यस्तै बेलायत र रुसबाट पनि उल्लेख्य संख्यामा आरोही सहभागी भएका छन्।

सगरमाथा आरोहणका लागि मात्रै ५५ देशका आरोहीले अनुमति लिएका छन्, जसमा चिनियाँ, अमेरिकी र भारतीय आरोहीको संख्या सबैभन्दा बढी रहेको छ।