निषेधित क्षेत्रमा पदयात्रा अनुमति अब पूर्ण रूपमा अनलाइनबाट, एकल पर्यटकले पनि अनुमति पाउने
वि.सं.२०८३ वैशाख २४ बिहीवार १५:२४
shares

काठमाडौं, २४ वैशाख । अध्यागमन विभागले विदेशी नागरिकका लागि निषेधित क्षेत्रभित्र गरिने पदयात्रा (ट्रेकिङ) अनुमति प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ। विभागका अनुसार अबदेखि पदयात्रा अनुमति सम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ।
सेवाग्राहीको सहजताका लागि अब भिसा नम्बरका अतिरिक्त भिसा आवेदन नम्बरका आधारमा पनि पदयात्रा अनुमतिका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ। साथै, अब एक जना मात्र पदयात्रीलाई समेत पदयात्रा अनुमति प्रदान गरिनेछ।
सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि ट्रेकिङ अनुमति लिन पर्यटक तथा ट्रेकिङ एजेन्सीहरूलाई समस्या भएको गुनासो आएपछि विभागले नयाँ कार्यतालिका समेत सार्वजनिक गरेको छ। विभागका अनुसार शनिबार बाहेक अन्य सार्वजनिक बिदाका दिनहरूमा पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पदयात्रा अनुमति सम्बन्धी सेवा उपलब्ध गराइनेछ।
विभागले यस व्यवस्थाले अनुमति प्रक्रिया थप सहज, छरितो र पूर्वानुमानयोग्य बन्ने विश्वास व्यक्त गरेको छ। सबै प्रक्रिया अनलाइनबाट हुने भएकाले सेवाग्राहीहरू विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट पनि हट्ने जनाएको छ।
यसैबीच विभागले केही ट्रेकिङ एजेन्सीहरूले गरिरहेको गैरकानुनी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागका अनुसार केही एजेन्सीहरूले अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने, रेस्क्युको बहानामा कर्मचारीमाथि दबाब दिने तथा स्थानीय प्रशासनले फेला पारेपछि मात्र अनुमति प्रक्रियामा आउने गरेको पाइएको छ।
यस्ता गतिविधिले पर्यटकहरू कानुनी जोखिममा पर्ने मात्र नभई नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पारिरहेको विभागको भनाइ छ। विभागले सबै ट्रेकिङ एजेन्सीहरूलाई अनिवार्य रूपमा अनुमति लिएर मात्र पर्यटकलाई पदयात्रामा लैजान पुनः आग्रह गरेको छ।
















