३११ उद्योगका उत्पादनले पाए नेपाल गुणस्तर चिह्न, सिमेन्टदेखि खाद्यान्नसम्म सरकारी प्रमाणीकरण
वि.सं.२०८३ वैशाख २४ बिहीवार १५:३८
shares

काठमाडौं, २४ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभरका विभिन्न उत्पादनमूलक उद्योगहरूको गुणस्तर प्रमाणीकरण गरी अद्यावधिक सूची सार्वजनिक गरेको छ। विभागका अनुसार हालसम्म ३११ उद्योगका विभिन्न उत्पादनहरूले नेपाल गुणस्तर ९एनएस० चिह्न प्राप्त गरेका छन्।
विभागले सिमेन्ट, फलामका डन्डी, पेन्ट्स, पीभीसी पाइप, बिजुलीका तार, खाद्यान्न तथा ग्यास सिलिन्डरलगायत दैनिक उपभोग्य र निर्माण सामग्रीहरूको गुणस्तर परीक्षणपछि इजाजतपत्र प्रदान गरेको जनाएको छ।
सार्वजनिक सूचीअनुसार निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूको संख्या सबैभन्दा बढी रहेको छ। सिमेन्टतर्फ जगदम्बा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट, अग्नि सिमेन्ट, सौर्य सिमेन्ट, वृज सिमेन्ट तथा हङ्सी शिवम् सिमेन्ट लगायत ५० भन्दा बढी उद्योगले ओपीसी, पीपीसी र पीएससी सिमेन्टमा एनएस चिह्न प्राप्त गरेका छन्।
फलाम तथा स्टिल उद्योगतर्फ हुलास वायर, अशोक स्टिल, हामा आइरन, जगदम्बा स्टिल, पञ्चकन्या स्टिल र लक्ष्मी स्टिल का छड तथा तारहरू गुणस्तरीय प्रमाणित भएका छन्।
पेन्ट्स उद्योगतर्फ पशुपति पेन्ट्स, एशियन पेन्ट्स, बर्जर पेन्ट्स, रिलायन्स पेन्ट्स र जास्मिन पेन्ट्सले विभिन्न श्रेणीका रङहरूमा गुणस्तर चिह्न प्राप्त गरेका छन्।
खाद्य उद्योगअन्तर्गत नेबिको, सीजी फुड्स को वाइवाइ चाउचाउ तथा स्वस्तिक आयल का घ्यू तथा तेलले एनएस चिह्न पाएका छन्। साथै दुगड स्पाइस, एग्रो प्रोसेसिङ उद्योग र विभिन्न मिनरल वाटर उद्योगहरू पनि सूचीमा समावेश छन्।
निर्माण सामग्रीतर्फ पञ्चकन्या, मंगलम, हिलटेक र जगदम्बा प्लास्टिकका पीई, पीभीसी तथा सीपीभीसी पाइपले गुणस्तर कायम गरेका छन् भने नेपाल वायर, पायोनियर इलेक्ट्रो केबल्स र लिटमस इन्डस्ट्रिज का तारहरू सुरक्षित प्रमाणित भएका छन्।
यसैगरी किरण सुज (गोल्डस्टार) लगायत जुत्ता तथा सौन्दर्य प्रसाधन उत्पादन गर्ने उद्योगहरूले पनि एनएस चिह्न प्राप्त गरेका छन्।
विभागका अनुसार बारा–पर्सा, मोरङ–सुनसरी तथा रुपन्देही–नवलपरासी औद्योगिक करिडोरका उद्योगहरूको संख्या उल्लेख्य रहेको छ। काठमाडौँ उपत्यकाभित्र खाद्य तथा ग्यास उद्योगहरूले समेत मापदण्ड पूरा गरेका छन्।
नेपाल गुणस्तर चिह्न प्राप्त गर्नु भनेको सम्बन्धित उत्पादन सुरक्षित, भरपर्दो र सरकारी मापदण्डअनुसार रहेको प्रमाणित हुनु हो। विभागले गुणस्तर कायम भए/नभएको नियमित अनुगमन गर्ने तथा मापदण्ड उल्लंघन भए इजाजतपत्र रद्द गर्ने प्रक्रिया जारी रहने जनाएको छ।
















