स्वावलम्बन लघुवित्तमा कर्मचारी माग
वि.सं.२०८३ जेठ ५ मंगलवार १२:१७
shares

काठमाडौं, ५ जेठ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। संस्थाले खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत तह ‘४ख’ मा पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो।
संस्थाले जारी गरेको सूचनाअनुसार आवेदन दिन इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्था वा बोर्डबाट न्यूनतम एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। नेपाल परीक्षा बोर्डबाट सञ्चालित एसईई परीक्षामा सहभागी भएकाहरूले न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने जनाइएको छ।
त्यसैगरी आधारभूत कम्प्युटर तालिम लिएको प्रमाणपत्र अनिवार्य गरिएको छ। लघुवित्त क्षेत्रमा कार्यअनुभव भएका, मोटरसाइकल वा स्कुटर चालक अनुमतिपत्र प्राप्त गरेका तथा संस्थाको कार्यक्षेत्रभित्रका बासिन्दा एवं ग्राहक सदस्यका परिवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
उमेरको हकमा आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका लागि अधिकतम उमेर सीमा ४० वर्ष तोकिएको छ। वित्तीय संस्थामा कार्यरत कर्मचारीको हकमा भने उमेरको सीमा लागू नहुने संस्थाले जनाएको छ।
चयन प्रक्रियाअन्तर्गत लिखित परीक्षा, फिल्ड अवधारणा परीक्षण, कम्प्युटर सञ्चालनसम्बन्धी प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता लिइनेछ। कम्प्युटर परीक्षणमा वर्ड, एक्सेल, पावरपोइन्ट, इमेल र इन्टरनेटसम्बन्धी ज्ञान समावेश हुने बताइएको छ।
संस्थाले पाठ्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ। योग्य तथा इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र संस्थाको वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ।
















