बुढानीलकण्ठमा बृहत आँखा शिविर सञ्चालन, मोतिविन्दूको निःशुल्क शल्यक्रिया गरिने
वि.सं.२०८३ जेठ ६ बुधवार १७:४४
shares

काठमाडौं, ६ जेठ । बुढानीलकण्ठ अस्पतालले तिलगंगा आँखा अस्पताल सँगको सहकार्यमा दुईदिने बृहत आँखा शिविर सञ्चालन गरेको छ। शिविरमा आँखाको निःशुल्क परीक्षण, औषधि तथा चस्मा वितरणसँगै मोतिविन्दू भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ।
नगर अस्पतालमा आयोजित शिविरको उद्घाटन गर्दै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरवासीको स्वास्थ्य पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन हुँदै आएको बताए। उनले आँखालाई मानव जीवनको अत्यन्त महत्वपूर्ण अंगको रूपमा उल्लेख गर्दै आँखासम्बन्धी समस्या समयमै पहिचान गर्न यस्ता शिविर प्रभावकारी हुने बताए।
“आँखामा समस्या आए जीवन नै कष्टकर हुन्छ। त्यसैले नगरभित्र आँखासम्बन्धी रोगको पहिचान र उपचारका लागि शिविर महत्वपूर्ण छ,” उनले भने। बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराईले पनि नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न सेवा सञ्चालन गरिरहेको बताए। उनले आँखा शिविरले स्थानीय नागरिकमा आँखाजन्य समस्याको पहिचान तथा उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलका अनुसार शिविरमा सहभागी सेवाग्राहीलाई आवश्यकताअनुसार सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइएको छ। उनले बुधबार आयोजित शिविरमा आँखाको परीक्षण गरी औषधि तथा चस्मा वितरण गरिएको जानकारी दिए। उनका अनुसार शिविरमा मोतिविन्दू पहिचान भएका बिरामीको आगामी जेठ १३ गते निःशुल्क शल्यक्रिया गरिनेछ।
“उमेरसँगै आँखासम्बन्धी समस्या बढ्दो क्रममा छन्। मोतिविन्दू लगायत नयाँ–नयाँ आँखाजन्य समस्या देखिन थालेपछि समुदायस्तरमै सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको हो,” पोखरेलले बताए।
त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठान का बाह्य आँखा कार्यक्रम अधिकृत महेश पराजुलीले बढीभन्दा बढी नागरिकसम्म सेवा पुर्याउन बुढानीलकण्ठ अस्पतालसँग सहकार्य गरिएको बताए। उनले शिविरमा सहभागी सबैलाई पूर्ण रूपमा निःशुल्क सेवा उपलब्ध गराइने जानकारी दिए।
पराजुलीले ४० वर्षभन्दा माथिका व्यक्तिले कम्तीमा एक पटक आँखा परीक्षण गराउनुपर्ने सुझाव दिँदै मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीले हरेक वर्ष नियमित आँखा जाँच गर्नुपर्ने बताए।















