Dhulikhel Eco Banner new

सिचुएसन रुमको बैठक निष्कर्षविहीन, इरान सम्झौतामा अझै अनिश्चितता

728
shares

काठमाडौं । इरानसँग शान्ति सम्झौता गर्ने कि नगर्ने भन्ने टुङ्गो लगाउन ह्वाइट हाउसमा बसेको महत्त्वपूर्ण बैठक कुनै ठोस निर्णयबिनै सकिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सुरक्षा टोलीसँग करिब दुई घण्टा छलफलमा बसे पनि अन्त्यमा सम्झौताको भविष्यबारे स्पष्ट जवाफ कतैबाट आएन ।

बैठक सकिएलगत्तै ह्वाइट हाउसले जारी गरेको प्रतिक्रियामा ट्रम्पले अमेरिकाको स्वार्थ रक्षा गर्ने र आफूले तानेका सीमारेखा (रेड लाइन) ननाघिने सम्झौतामा मात्र हस्ताक्षर गर्ने उल्लेख छ । इरानले कुनै हालतमा आणविक हतियार बनाउन नपाउने अमेरिकी अडान यथावत् रहेको पनि त्यसमा जनाइएको छ ।

यसअघि दुवै पक्ष ६० दिने युद्धविराम लम्ब्याउने र इरानको आणविक कार्यक्रममाथि औपचारिक संवाद थाल्ने गरी एक समझदारी पत्रको मस्यौदासम्म पुगेका थिए । तर यो दस्तावेज दुवै देशको शीर्ष तहले अनुमोदन नगरेसम्म कागजको खाकाभन्दा बढी केही नहुने अमेरिकी पक्षले नै स्वीकार गरेको छ ।

बैठक बस्नुअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्ना कडा माग सार्वजनिक गरेका थिए । इरानले आणविक हतियार कहिल्यै नबनाउने प्रत्याभूति दिनुपर्ने, हर्मुज जलमार्ग तत्काल खुला गर्नुपर्ने र त्यहाँ बिछ्याइएका समुद्री माइन हटाउनुपर्ने उनको सर्त थियो । तर तेहरानले यी सबै दाबीलाई सिरेसँग अस्वीकार गरेको छ ।

इरानी समाचार संस्था फार्सले ट्रम्पका भनाइलाई आधा सत्य र आधा झूटको मिश्रण भन्दै आफूले आफैंलाई विजेता देखाउने प्रयासका रूपमा व्याख्या गरेको छ । मस्यौदामा माइन हटाउने वा निःशुल्क जलमार्ग खोल्ने कुनै बुँदा नभएको फार्सको दाबी छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले पनि अहिलेसम्म कुनै अन्तिम सहमति नभएको र वार्ता मूलतः युद्ध रोक्ने विषयमै केन्द्रित रहेको प्रस्ट पारेका छन् ।

एकातिर सम्झौताको कसरत चलिरहँदा अर्कोतिर मध्यपूर्वको रणभूमि झनै तातेको छ । इजरायलले लेबनानमा इरान निकट हिजबुल्लाहलाई निशाना बनाएर हमला बढाएको छ । लेबनान सरकारका अनुसार यी आक्रमणमा अहिलेसम्म ३ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबारविहीन भएका छन् ।