जेठसम्म जीवन बीमकले संकलन गरे १ खर्ब ७३ अर्ब ५० करोड बीमा शुल्क
वि.सं.२०८३ असार १० बुधवार १३:२९
shares

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना अर्थात् जेठसम्म जीवन बीमा कम्पनीहरुले डेढ खर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चानलमा रहेका १४ वटा जीवन बीमा कम्पनीले जेठसम्म १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख कुल बीमा शुल्क संकलन गरेका हुन् ।
जुन गत वर्षको तुलनामा बढी हो । बीमा कम्पनीहरुले गत वर्ष २०८१/८२ को जेठसम्म १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख कुल बीमा शुल्क आर्जन गरेका थिए । जेठसम्ममा बसबैभन्दा बढी बीमा शुल्क भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ४६ अर्ब १६ करोड ४३ लाख बीमा शुल्क संकलन गरेको हो । यस्तै, बढी बीमा शुल्क संकलन गर्नेको दोस्रो नम्बरमा रहेको नेशनल लाइफले जेठसम्म २२ अर्ब २१ करोड १६ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।
यसैगरी, जेठसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले १८ अर्ब ४८ करोड ३५ लाख, हिमालयन लाइफले १५ अर्ब ७९ करोड ४३ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड १० लाख, सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड ५० लाख, एसियन लाइफले ८ अर्ब ५१ करोड ७१ लाख र सिटिजन लाइफले ७ अर्ब ५९ करोड ५६ लाख कुल बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै, जेठसम्म सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड ४२ लाख, आइएमई लाइफले ६ अर्ब १७ करोड ५९ लाख, मेट लाइफले ६ अर्ब १० करोड ६५ लाख, रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड ७ लाख, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड ३३ लाख र सन नेपाल लाइफले ३ अर्ब ८३ करोड ५८ लाख बीमा शुल्क संकलन गरेको छ ।


















