रास्वपा सांसद गेलाललाई गम्भीर धक्का, स्काईवेलले रद्द गर्यो डिलरसीप
वि.सं.२०८३ असार १० बुधवार १५:४९
shares

काठमाडौं, १० असार । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी स्काइवेलले नेपालका लागि आफ्नो आधिकारिक आयातकर्ता तथा वितरक जी मोटर्स प्रालिसँगको डिलर सम्झौता अन्त्य गरेको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार उक्त निर्णय जुन ५, २०२६ देखि लागू भएको हो ।
जी मोटर्सका मालिक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारमसमणि गेलालका भाइ कैलासबाबु गेलाल हुन् । सांसद गेलालले पनि डिलरसीप लिएर स्वाईवेल गाडि बेच्दै आएका थिए । कम्पनीको यो निर्णयसँगै सांसद गेलालको व्यवसायमा गम्भीर धक्का लागेको छ ।
स्काइवेलको अन्तर्राष्ट्रिय बजार विभागले नेपाल सरकारअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्राचार गर्दै जी मोटर्स अब स्काइवेल तथा स्काइवर्थ ब्रान्डका सवारीसाधनको आधिकारिक आयातकर्ता र वितरक नरहेको जानकारी गराएको जनाएको छ ।
जी मोटर्सले सन् २०२४ देखि स्काइवेल ब्रान्डलाई नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको थियो । कम्पनीले सुरुवातमा स्काइवेल ईटी–५ मोडल सार्वजनिक गरेको थियो, जसले लामो रेन्ज र प्रिमियम सुविधाका कारण बजारमा राम्रो चर्चा पाएको थियो ।
हाल नेपाली बजारमा स्काइवेलका बीई–११ र ईटी–५ मोडल उपलब्ध छन् । यी गाडीहरू ४१० किलोमिटरदेखि ६२० किलोमिटरसम्मको रेन्जमा उपलब्ध रहेको बताइन्छ ।
जी मोटर्सले काठमाडौं, विराटनगर, इटहरी, चितवन र पोखरालगायत विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्दै आएको थियो भने भक्तपुरको राधेराधे र इटहरीमा सेवा केन्द्रसमेत सञ्चालनमा रहेका छन् ।
यद्यपि, स्काइवेलले नेपालका लागि नयाँ आधिकारिक आयातकर्ता वा वितरक को हुने भन्ने विषयमा हालसम्म कुनै औपचारिक घोषणा गरेको छैन ।


















