बेलिंघमको दुई गोलसँगै इंग्ल्यान्ड विश्वकप सेमिफाइनलमा
वि.सं.२०८३ असार २८ आइतवार ०७:२३
shares

जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ। मियामी स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा पछि परेको अवस्था उल्टाउँदै इंग्ल्यान्डले जित निकालेको हो।
नर्वेले खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरपको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफको अतिरिक्त समयमा बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा फर्काए।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समय सुरु भएको केही समयमै बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए। त्यसपछि नर्वेले बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन।
यो जितसँगै इंग्ल्यान्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब इंग्ल्यान्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रशिक्षक थोमस टुचेलले खेलमा टोलीको प्रदर्शन अपेक्षाअनुसार नभए पनि खेलाडीको संघर्ष र आत्मविश्वासका कारण जित सम्भव भएको बताए। उनले बेलिंघमको निर्णायक भूमिकाको प्रशंसा गर्दै यो जित टोलीको सामूहिक प्रयास भएको उल्लेख गरे।



















