Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकको नाममा हुने ठगीबाट सावधान रहन ग्राहकलाई आग्रह

2.46K
shares

काठमाडौं, २८ असार । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम दुरुपयोग गरेर भइरहेका ठगीका प्रयासप्रति सचेत रहन ग्राहकलाई आग्रह गरेको छ। बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा केही अनधिकृत व्यक्ति तथा ठगी गिरोहले बैंकको नाममा ग्राहकलाई फोन गरी ‘केवाईसी अपडेट’ गर्नुपर्ने भन्दै व्यक्तिगत तथा बैंकिङ्ग विवरण माग्ने, ओटीपी माग्ने, स्क्रिन सेयर गर्न लगाउने, अनधिकृत एप डाउनलोड गराउने तथा फिसिङ लिंक पठाएर क्लिक गर्न लगाउनेजस्ता गतिविधि गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ।

बैंकका अनुसार कुनै पनि कर्मचारी वा आधिकारिक प्रतिनिधिले केवाईसी अपडेट वा अन्य कुनै प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट एटीएम पिन, मोबाइल बैंकिङ्ग तथा ई–बैंकिङ्गको ओटीपी, इमेल पासवर्ड वा अन्य गोप्य व्यक्तिगत विवरण कहिल्यै नमाग्ने स्पष्ट गरेको छ। यस्ता फोन, इमेल वा सामाजिक सञ्जालमार्फत आउने सन्देशमा विश्वास नगर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको शाखा वा बैंकका आधिकारिक सम्पर्क नम्बरमा मात्र जानकारी गराउन बैंकले ग्राहकलाई अनुरोध गरेको छ।

साथै बैंकको आधिकारिक वेबसाइटमार्फत प्रकाशित सूचना मात्र विश्वास गर्न पनि आग्रह गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकले सुरक्षित बैंकिङ्ग कारोबारका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै साइबर ठगीविरुद्ध सचेत र सजग रहन सम्पूर्ण ग्राहकलाई आह्वान गरेको छ।