Dhulikhel Eco Banner new

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

5.11K
shares

काठमाडौं — फिफा विश्वकपको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। रोमाञ्चक खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डमाथि ३–१ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले ११२ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

यसअघि खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा डान न्डोएले गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काएका थिए।

खेलको ७२ औँ मिनेटमा ब्रिल एम्बोलोले रातो कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि पनि उसले अर्जेन्टिनालाई निर्धारित समयसम्म रोक्न सफल भए पनि अतिरिक्त समयमा दबाब थेग्न सकेन।

खेलको अन्तिम क्षणमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जित दर्ता गर्दै विश्वकप उपाधिको यात्रालाई अझ बलियो बनाएको छ।