काठमाडौंमा चोरी भएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला
वि.सं.२०८३ असार २९ सोमवार १३:४०
shares

काठमाडौं, २९ असार । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
सोमबार आयोजित एक कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ३६ वटा मोटरसाइकल र १५ वटा स्कुटर गरी कुल ५१ वटा सवारीसाधन सम्बन्धित धनीलाई बुझाएका हुन्।
प्रहरीका अनुसार ती सवारीसाधन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका थिए। खोजतलास तथा अनुसन्धानका क्रममा सवारीसाधन फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो।
यस अवसरमा ट्राफिक प्रहरीले सवारीसाधन चोरी हुनबाट जोगिन चालक तथा सवारीधनीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षित स्थानमा पार्किङ गर्ने, गुणस्तरीय लक प्रयोग गर्ने तथा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।


















