साकाको ह्याट्रिकमा इंग्ल्यान्ड तेस्रो
वि.सं.२०८३ साउन ३ आइतवार ०८:५४
shares

मियामी — बुकायो साकाले ह्याट्रिक गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ। शनिबार राति भएको गोलको वर्षा भएको खेल जित्दै इंग्ल्यान्डले कांस्य पदक हात पारेको हो।
इंग्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता बनाएको थियो। १८औँ मिनेटमा एज्री कोन्साले अग्रता दोब्बर बनाए। साकाले ३७औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि इंग्ल्यान्ड मध्यान्तरसम्म ४–० ले अघि रह्यो।
दोस्रो हाफमा फ्रान्सले आक्रामक प्रदर्शन गर्दै खेलमा फर्कने प्रयास गर्यो। किलियन एम्बाप्पेले ४८औँ मिनेटमा फ्रान्सको पहिलो गोल गरे भने ब्राड्ली बारकोलाले ५४औँ मिनेटमा दोस्रो गोल थपे। एम्बाप्पेले ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–३ को अवस्थामा पुगेको थियो।
फ्रान्स बराबरीको खोजीमा रहेका बेला ८७औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो। साकाले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल गरे पनि त्यसको दुई मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को जित निश्चित गरे।
यस नतिजासँगै इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको शीर्ष तीनमा परेको छ। प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका साका उत्कृष्ट खेलाडी घोषित भए। फ्रान्सको पराजयसँगै प्रशिक्षक डिडिएर डेसच्याम्प्सको कार्यकालसमेत समाप्त भएको छ।
राइसले खेल सुरु भएको १३४ सेकेन्डमा गोल गर्दै विश्वकपमा इंग्ल्यान्डका लागि दोस्रो छिटो गोल गर्ने कीर्तिमान बनाए। फ्रान्सका माइकल ओलिसेले प्रतियोगितामा सातौँ असिस्ट गरे भने एम्बाप्पेले आफ्नो गोल संख्या १० पुर्याए।



















