पुँजी बजार सुधारका विषयमा प्रधानमन्त्री साहको चासो, सरोकारवालासँग छलफल
वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४८
shares

प्रधानमन्त्री बालेन्द्र साहले पुँजी बजार सुधारका विषयमा लगानीकर्ता, ब्रोकर तथा नियामक निकायका प्रतिनिधिसँग छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा बजार सुधारका लागि आवश्यक नीतिगत व्यवस्था र कार्यान्वयनका विषयमा सुझाव संकलन गरिएको हो।
छलफलमा सहभागीहरूले इन्ट्रा–डे कारोबार, सर्ट सेल सुविधा, प्राइस डिस्कभरी प्रणालीमा सुधार तथा बजारमा तरलता बढाउने उपाय तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै घाटा समायोजनपछि मात्र कर लगाउने व्यवस्था, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालन, गैरआवासीय नेपालीलाई पुँजी बजारमा सहज पहुँच र आईपीओ प्रणालीमा सुधार गर्नुपर्ने विषय पनि उठाइएको थियो।
प्रधानमन्त्री साहले पुँजी बजारलाई अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्। सहभागीहरूका अनुसार उनले नियामक निकायसँग आवश्यक समन्वय गरी सुधारका विषयलाई अघि बढाउने तथा लगानीकर्ताको विश्वास बढाउने दिशामा सरकार सकारात्मक रहेको बताएका छन्।
पछिल्ला दिनमा बजार सुधारको माग गर्दै लगानीकर्ताले विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेका बेला प्रधानमन्त्रीसँग भएको यो छलफललाई पुँजी बजार सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।



















