उत्कृष्ट निर्माण कार्यको कदर गर्दै प्रकाशबहादुर सेटीलाई आईजीपी कार्कीद्वारा सम्मान
वि.सं.२०८३ साउन १२ मंगलवार ०९:१४
shares

काठमाडौं, १२ साउन । तोकिएको समयभन्दा अगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्दै आएका नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा रोयल कन्स्ट्रक्सनका सञ्चालक प्रकाशबहादुर सेटीलाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्मान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवन समयअघि नै उच्च गुणस्तरसहित निर्माण सम्पन्न गरेको योगदानको कदर गर्दै आईजीपी कार्कीले सेटीलाई सम्मान गरेका हुन्।
बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी (क्व्ए) कार्यक्रमअन्तर्गत यूएनओपीएसमार्फत निर्माण भइरहेका नेपाल प्रहरीका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका भवनहरू समयमै तथा गुणस्तरीय रूपमा सम्पन्न गर्दै आएका सेटीले निर्माण क्षेत्रमा आफूलाई विश्वसनीय व्यवसायीका रूपमा स्थापित गरेका छन्।
यसअघि पनि उनले सुर्खेतको छिन्चु, कैलालीको मसुरिया र सत्ती, बाँकेको वेतानी तथा कोहलपुर, दाङको गडुवा, रूपन्देहीको बुटवल, पर्सा, सप्तरीको कञ्चनपुर, विराटनगर र सुनसरीको इनरुवासहित विभिन्न स्थानका प्रहरी भवनहरू निर्धारित समयमै निर्माण सम्पन्न गरिसकेका छन्।
सम्मान ग्रहणपछि सेटीले सार्वजनिक पूर्वाधार निर्माणमा समयपालन, गुणस्तर र व्यावसायिक प्रतिबद्धतालाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा पनि जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्दै आएको योगदानका कारण विगतमा पनि विभिन्न निकायबाट सम्मानित भइसकेका सेटी सफल निर्माण व्यवसायीसँगै समाजसेवामा समेत सक्रिय रहँदै आएका छन्।

















