नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा राष्ट्र बैंकले भन्यो– ‘बैंक सञ्चालनमा कुनै जटिलता छैन’
वि.सं.२०८३ साउन २८ बिहीवार १६:१६
shares

काठमाडौं, २८ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध अभियोगपत्र दायर भएको विषय जानकारीमा आएको जनाउँदै बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन भइरहेको जनाएको छ। राष्ट्र बैंकका अनुसार बैंकको वर्तमान तरलता अवस्था तथा वित्तीय सबलताका सूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक अवस्थामा रहेका छन्। बैंकको दैनिक कारोबार तथा कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था हालसम्म नदेखिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको अवस्थामा यसको प्रकृति, समयावधि र गाम्भीर्यलाई आधार बनाई राष्ट्र बैंकले थप छलफल तथा कानुनी राय लिने जनाएको छ। साथै, आवश्यकताअनुसार बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा कानुनबमोजिम आवश्यक कदम चालिने राष्ट्र बैंकले जनाएको छ।















