२७ अर्बको विद्युत् बिक्री, नाफा १०७प्रतिशतले बढ्यो; हाइड्रोपावर घाटाबाट नाफामा
वि.सं.२०८३ साउन २८ बिहीवार १५:३६
shares

काठमाडौं, २८ साउन । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म जलविद्युत् कम्पनीहरुको वित्तीय अवस्था उल्लेख्य रुपमा सुधारिएको देखिएको छ। विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि र वित्तीय खर्च घटेसँगै अधिकांश कम्पनीको नाफा बढेको छ भने केही कम्पनीहरु घाटाबाट नाफामा फर्किएका छन्।
सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये ४९ वटाले गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार यी कम्पनीहरुको नाफा समग्रमा ३ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अर्थात्, एक वर्षको अवधिमा नाफा १०७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यस्तै, विद्युत् बिक्रीबाट हुने कुल आम्दानी २३ अर्ब १६ करोड रुपैयाँबाट बढेर २७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । उक्त आम्दानी १८ प्रतिशतले बढेको हो ।
नाफाको आधारमा साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ । कम्पनीले १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ५२ प्रतिशत बढी हो । दोस्रो स्थानमा सोलु हाइड्रोपावर रहेको छ । कम्पनीको नाफा १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने माउन्टेन इनर्जी नेपालले ७९ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ।
चिलिमे हाइड्रोपावरले ७२ करोड रुपैयाँ तथा सानिमा मिडिल तमोरले ६२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, ग्रिन भेन्चर्स, सुपर मादी, माण्डु हाइड्रोपावर, सानिगाड हाइड्रो र अपर सोलु हाइड्रोको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । विशेषगरी केही कम्पनीको नाफा वृद्धिदर निकै उच्च देखिएको छ । माण्डु हाइड्रोपावरको नाफा ६ करोड १८ लाख रुपैयाँबाट बढेर ३१ करोड ८५ लाख रुपैयाँ पुगेको छ । श्वेतगंगा हाइड्रोपावरको नाफा १८ लाख रुपैयाँबाट बढेर १७ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने सानिगाड हाइड्रोको नाफा करिब पाँच गुणाले बढेको छ।
अघिल्लो वर्ष घाटामा रहेका धेरै कम्पनी यस वर्ष नाफामा फर्किएका छन् । सान्जेन जलविद्युत्, भिजन लुम्बिनी ऊर्जा, पाँचथर, पञ्चकन्या माई हाइड्रोपावर, न्यादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावरलगायत कम्पनीले घाटाबाट उकासिँदै नाफा कमाएका छन्।
विद्युत बिक्रीबाट हुने आम्दानी भने साहस ऊर्जाको सबैभन्दा धेरै छ । कम्पनीले विद्युत् बिक्रीबाट २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ । सोलु हाइड्रोपावरले २ अर्ब ६२ करोड रुपैयाँ र सानिमा मिडिल तमोरले २ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
सान्जेन जलविद्युत्, माउन्टेन इनर्जीको विद्युत् बिक्री आम्दानी पनि १ अर्ब ५० करोड रुपैयाँभन्दा माथि छ । यद्दपि, सबै कम्पनीको अवस्था समान छैन । केही कम्पनी अझै घाटामै छन् । शिवश्री हाइड्रोपावरले ११ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोरेको छ भने याम्बालिङ हाइड्रोपावर, बुङ्गल हाइड्रो, अपर लोहोर खोला, खानी खोला र भुजुङ हाइड्रोपावर पनि घाटामै रहेका छन् ।
विश्लेषकहरुका अनुसार वर्षभरि अनुकूल जलप्रवाह, उत्पादन वृद्धि, विद्युत् बिक्री विस्तार बढ्दा र वित्तीय खर्चमा आएको कमिका कारण जलविद्युत् कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको हो। उत्पादन सुरु गरेका नयाँ आयोजनाहरुको योगदान समेत थपिँदा यो क्षेत्रको समग्र वित्तीय प्रदर्शन बलियो बनेको देखिन्छ।















