नागपञ्चमीमा घरघरमा नागको पूजा, ढोकामा टाँसिँदै नागको चित्र
वि.सं.२०८३ भदौ १ सोमवार ०६:३६
shares

काठमाडौं — हिन्दु धर्मावलम्बीले आज परम्पराअनुसार नागपञ्चमी पर्व मनाउँदैछन्। यस अवसरमा घरको मूलढोकामा नागको चित्र टाँसी नागको पूजा गर्ने चलन छ। नाग, सर्पलगायतका जीवबाट सुरक्षा र प्राकृतिक विपत्तिबाट बच्ने धार्मिक विश्वासका साथ यो पर्व मनाइँदै आएको हो।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष अधिकमासका कारण भदौको पहिलो दिन परेको छ। यस दिन नागका विभिन्न स्वरूपको पूजा गर्दै दूध, अक्षता, दुबो, खीर तथा अन्य प्रसाद चढाउने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार नागलाई पानी र प्रकृतिसँग जोडेर हेरिन्छ। नागलाई प्रसन्न राख्दा वर्षा, समृद्धि र घरको सुरक्षासँग सम्बन्ध रहने विश्वासका कारण वैदिककालदेखि नै नाग पूजाको परम्परा चलिआएको मानिन्छ।
सनातन परम्परामा नागलाई भगवान् शिव र विष्णुसँग समेत जोडेर हेरिन्छ। शिवले नागलाई आभूषणका रूपमा धारण गर्ने र विष्णुले शेषनागको शय्यामा विश्राम गर्ने धार्मिक कथन पाइन्छ।
नागपञ्चमीसँग जोडिएका विभिन्न किंवदन्तीमध्ये किसान परिवारलाई नागिनीले क्षमा दिएको कथा पनि प्रचलित छ। नागको पूजा गरेपछि परिवारको रक्षा भएको विश्वाससँगै यस दिन नागप्रति सम्मान प्रकट गर्ने परम्परा बसेको जनविश्वास छ।
यस अवसरमा काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थान तथा कुण्डमा विशेष पूजा गरिन्छ। नागपञ्चमीपछि नेपाली हिन्दु समुदायका ठूला चाडपर्वको क्रम सुरु हुने मान्यता पनि छ।
धार्मिक विश्वाससँगै पर्यावरणीय दृष्टिले पनि सर्प तथा नागको संरक्षण महत्वपूर्ण मानिन्छ। सर्पले प्रकृतिको जैविक सन्तुलन कायम राख्न भूमिका खेल्ने भएकाले नागपञ्चमीलाई प्रकृति संरक्षणसँग जोडेर पनि हेर्ने गरिएको छ।
















