Dhulikhel Eco Banner new

होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

949
shares

काठमाडौँ,  ३१  साउन । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे “याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चेम्बरले अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्दा निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगमा नकारात्मक असर पर्न सक्ने बताएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको भनिएको विषयप्रति प्रतिक्रिया दिँदै चेम्बरले होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको स्पष्ट पारेको छ। होटलमा करिब २०० भरिभराउ ग्यास सिलिन्डर मौज्दात रहनु पनि होटलको सञ्चालनको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक मान्न नमिल्ने चेम्बरको भनाइ छ।

व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने चेम्बरले जनाएको छ।

चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी गरिने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने जनाएको छ।

होटल तथा पर्यटन व्यवसायलगायत आपूर्ति, नियमन वा अन्य समस्या देखिए सम्बन्धित निकायले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ।

तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास, प्रतिष्ठा र दिगो विकास सुनिश्चित गर्न सकिने चेम्बरको धारणा छ।