मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी
वि.सं.२०८३ साउन ३१ आइतवार १४:१८
shares

काठमाडौं, ३१ साउन । मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो छ । यो जीर्ण हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलका अनुसार एम्बुलेन्स पटकपटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ । “अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो नाम मात्रैको छ”, उनले भनिन् ।
प्राकृतिक विपद्, दुर्घटना तथा अन्य कारणले गम्भीर बिरामीलाई पोखरा तथा अन्य सुगम स्थानका अस्पतालमा रिफर गर्नुपर्दा भरपर्दो एम्बुलेन्स नहुँदा समस्या जटिल हुने गरेको उनले बताइन् । नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि पटकपटक माग गरिए पनि हालसम्म प्राप्त नभएको उनले दुखेसो गरिन् ।
अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर थन्किएपछि बिरामीलाई समस्या थपिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको स्वीकार गरे ।
मुस्ताङका पाँच स्थानीय तहमध्ये चार वटामा आठ वटा एम्बुलेन्स भए पनि आधा मात्र सञ्चालनमा छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भने एउटा पनि एम्बुलेन्स छैन । उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका रहेका एम्बुलेन्स भने सुचारु रुपले चलेका छन् ।
















