६१.८ प्रतिशत फिबोनाचीको मोडमा नेप्से : बजारले गति लेला कि दबाबमै रहला ?
क्रेता र विक्रेता दुवैतर्फ समान अन्योल
वि.सं.२०८३ भदौ ४ बिहीवार ०६:००
182
shares
shares

काठमाडौँ — धितोपत्र बजारमा पछिल्लो समय देखिएको अन्योलका बीच आज (बिहीबार) को कारोबार लगानीकर्ताका लागि प्राविधिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ। अघिल्लो दिन सामान्य अंकको गिरावटसहित २ हजार ६ सय २२ दशमलव २२ विन्दुमा थामिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आज कुन दिशा लिन्छ भन्नेमा बजार सहभागीहरूको ध्यान केन्द्रित भएको छ।
प्राविधिक विश्लेषकहरूका अनुसार आजको कारोबारमा बजारले सामना गरिरहेको ६१.८ प्रतिशत फिबोनाची रिट्रेसमेन्टको प्रतिरोध क्षेत्र मुख्य परीक्षणको विषय बन्नेछ। हिजोको कारोबारमा सो स्तरभन्दा माथि ब्रेकआउट दिन नसकेपछि बजार दबाबमा परेको थियो। यदि आजको सत्रमा पनि खरिदकर्ताहरू हाबी हुन सकेनन् र यो प्रतिरोध पार हुन सकेन भने, आगामी दिनमा परिसूचक ७८.६ प्रतिशतको फिबोनाची समर्थन क्षेत्रतर्फ ओर्लिने जोखिम रहने प्राविधिक विश्लेषणले देखाउँछ।
हिजो बन्द हुने क्रममा बनेको ‘डोजी’ प्रकृतिको क्यान्डलले बजारमा क्रेता र विक्रेता दुवैतर्फ समान अन्योल रहेको सङ्केत गर्छ। त्यसमाथि ट्रेन्डको शक्ति मापन गर्ने एडीएक्स (ADX) सूचक माथितर्फ फर्किएकाले छोटो अवधिमा नकारात्मक ट्रेन्ड अझै बलियो हुन सक्ने सम्भावना नकार्न सकिँदैन। यद्यपि, आजको सुरुवाती एक घण्टाको कारोबार र ‘ग्याप’ कसरी भरिन्छ भन्ने कुराले दिनभरिको बजारको गति तय गर्नेछ।

बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थामा सुधार आउनु र बैंकिङ प्रणालीमा ब्याजदर घट्दै जानु दीर्घकालीन रूपमा सकारात्मक पक्ष भए पनि घट्दो कारोबार रकमले लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’कै रणनीतिमा रहेको देखाउँछ। हिजो कारोबार रकम ३ अर्ब २९ करोड रुपैयाँमा खुम्चिनुले बजारमा नयाँ पूँजी प्रवेशमा ढिलाइ भइरहेको पुष्टि गर्छ। त्यसैले आज बजारमा सूचकसँगै कारोबार रकममा सुधार आउँछ कि आउँदैन भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ।
सकारात्मक पक्ष भनेको, ठूला १० ब्रोकरहरूको हिजोको विवरण हेर्दा अधिकांशमा ठूलो बिक्री दबाब वा ‘प्यानिक सेलिङ’ देखिएको छैन। ६ वटा प्रमुख ब्रोकरमा खरिद पक्ष नै बढी देखिएकाले संस्थागत तथा ठूला लगानीकर्ताहरू तल्लो विन्दुमा सेयर सङ्कलन गर्ने मुडमा रहेको अनुमान गर्न सकिन्छ। समग्रमा, आज नेप्सेले ६१.८ प्रतिशतको अवरोध तोडेर माथिल्लो यात्रा तय गर्छ वा थप करेक्सनको बाटो रोज्छ भन्ने कुराले आगामी साताको बजारको दिशा समेत निर्धारण गर्नेछ।

















