Dhulikhel Eco Banner new

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालन, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

507
shares

काठमाडौं, ७ भदौ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ। सोरुम शुभारम्भको अवसरमा कम्पनीले प्रोटोनको नयाँ विद्युतीय सवारी ‘द अल–न्यू प्रोटोन इ।मास ५’ समेत सार्वजनिक गरेको छ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा इ।मास ५ प्रस्तुत गरिएको हो। कम्पनीका अनुसार सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यले यो मोडल विकास गरिएको हो।

हालै मलेसियामा आयोजित प्रतिष्ठितराष्ट्रिय कार अवार्ड्स २०२५’मा उत्कृष्ट विद्युतीय कम्प्याक्ट एसयूभीको उपाधि जित्न सफल इ।मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

इ।मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता सुविधा उपलब्ध छन्। त्यस्तै, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म थप व्यावहारिकता प्रदान गर्ने कम्पनीको दाबी छ।

सोरुम उद्घाटन तथा इ।मास ५ सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा देखिएको उत्साहले जनकपुर तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र दिगो यातायातप्रतिको रुचिलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको सफल साझेदारीलाई निरन्तरता दिँदै जनकपुरका ग्राहकहरूमाझ इ।मास ५ सार्वजनिक गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए।

उनले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनका कारण इ।मास ५ यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।

भक्तपुरबाट सुरु भएको इ।मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर पुगेको हो। कम्पनीका अनुसार भोलि वीरगञ्जमा हुने कार्यक्रमसँगै यसको क्षेत्रीय सार्वजनिककरण अभियानले अर्को चरण पूरा गर्नेछ। नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ।मास ५ लाई ग्राहकसम्म पुर्‍याउने योजना रहेको जगदम्बा मोटर्सले जनाएको छ।

प्रोटोन इ।मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। जनकपुरमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३२.९९ लाख र प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३६.९९ लाख निर्धारण गरेको जनाएको छ।

अब इच्छुक ग्राहकले जनकपुरस्थित नयाँ आधिकारिक प्रोटोन सोरुममा पुगेर इ।मास ५ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। सोरुममा ग्राहकले गाडीको प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे थप जानकारीसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

नेपालभर प्रोटोनको उपस्थिति विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने जगदम्बा मोटर्सको अभियानअन्तर्गत जनकपुरको नयाँ सोरुम सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।