Dhulikhel Eco Banner new

मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशतले बढ्यो, इम्पेरमेन्ट चार्ज घट्दा आम्दानीमा सुधार

520
shares

काठमाडौं, १५ कार्तिक। मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४३.४४ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानीमा आएको सुधार र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १ अर्ब ३७ करोड ८४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा पनि ३२ करोड ११ लाख रुपैयाँबाट बढेर ७५ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ। यसले लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्ने क्षमता रहेको देखाउँछ।

बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप संकलन १ खर्ब २६ अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह १ खर्ब ५ अर्ब रुपैयाँ कायम भएको छ।

बैंकका प्रमुख वित्तीय परिसूचकमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६५.६७ रुपैयाँ कायम भएको छ। बैंकको पुँजी कोष अनुपात १२.८६ प्रतिशत रहेको छ।