Dhulikhel Eco Banner new

मैतीदेवीमा ‘समाज’को जनचेतनामूलक सडक नाटक

416
shares

काठमाडौं, १५ कात्तिक । वैदेशिक रोजगारीका नाममा युवाहरूले भोग्नुपरेका समस्या, मानसिक तनाव र सामाजिक प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौंको मैतीदेवीमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयको सहयोगमा सोसाइटी फर अवेर्नेस, मिडिया एण्ड जर्नलिज्म (समाज) ले सडक नाटक प्रदर्शन गरेको हो ।
देशमा पर्याप्त रोजगारी तथा अवसरको अभावका कारण ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । तर विदेश पुगेपछि सोचेजस्तो काम र पारिश्रमिक नपाउनु, विदेश जान लिएको ऋणको बोझ, पारिवारिक अपेक्षा, एक्लोपन तथा मानसिक तनावजस्ता समस्याले धेरै युवा प्रभावित हुने गरेका छन् ।

नाटकले वैदेशिक रोजगारीका क्रममा युवाहरूले भोग्नुपर्ने यस्ता यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्दै त्यसले व्यक्ति, परिवार र समग्र समाजमा पार्ने प्रभाव उजागर गरेको छ ।
वैदेशिक रोजगारीलाई मात्रै भविष्य निर्माणको विकल्प ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वदेशमै उपलब्ध सम्भावना र अवसरको खोजी गर्न युवाहरूलाई प्रेरित गर्नु नाटकको मुख्य उद्देश्य रहेको समाजले जनाएको छ ।

नाटकमार्फत युवाहरूलाई आफ्नो सीप, क्षमता र दक्षताको सदुपयोग गर्दै स्वदेशमै सम्भावनाको खोजी गर्न तथा वैदेशिक रोजगारीमा जानुअघि त्यसका अवसर र चुनौतीबारे पर्याप्त जानकारी लिनसमेत सन्देश दिइएको छ ।
सडक नाटकमा कलाकारहरू स्वस्थानी राउत, आरुषजंग सारु, सरस दाहाल र धिरज थापा मगरले अभिनय गरेका छन् । समाजले सञ्चारमाध्यम र सिर्जनात्मक प्रस्तुतिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।