तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीका उच्च भेगमा हिमपातको आकलन
वि.सं.२०८३ मंसिर १ मंगलवार ०९:३४
663
shares
shares

काठमाडौँ — पश्चिमी वायुको आंशिक असरका कारण तराईका समथर भूभाग, उपत्यका र नदी किनारका खोँचहरू हुस्सु तथा कुहिरोले ढाकिएका छन् । पहाडी र हिमाली भेगको मौसम भने हाल सामान्यतया सफादेखि आंशिक बदली अवस्थामा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने देखिन्छ । देशका अन्य भूभागमा मौसम सफा रहे पनि कोशीका पहाडी र हिमाली भेगसहित गण्डकीको हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने प्रक्षेपण छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै लुम्बिनीको हिमाली भेगमा आंशिक बदली रहनेछ । रातिको समयमा कोशी र गण्डकीका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
















