नेपाल बैंकको ९०औँ वार्षिकोत्सव समारोह सम्पन्न, डिजिटल कर्जा सेवा सुरु
वि.सं.२०८३ मंसिर १ मंगलवार ११:०९
shares

काठमाडौं, १ मंसिर । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा सोमबार आयोजित समारोह अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले २०८३ कात्तिक ३० गते ९०औँ वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। समारोहको अध्यक्षता बैंक सञ्चालक समितिका सदस्य बद्री खनालले गरेका थिए।
वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री वाग्लेले बैंकको डिजिटल कर्जा सेवा ‘फोन लोन’ (Fone Loan), ‘बाइ नाउ पे लेटर’ (BNPL) क्रेडिट कार्ड तथा अनलाइन लोन एप्लिकेसन पोर्टलको शुभारम्भ गरेका छन्।
समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले उत्पादनशील क्षेत्र, कृषि, जलविद्युत्, पर्यटन, साना तथा मझौला उद्यमलगायतका क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्न बैंकहरूलाई आग्रह गरेका थिए। साथै, संस्थागत सुशासन, वित्तीय अनुशासन, डिजिटल रूपान्तरण, साइबर सुरक्षा तथा वित्तीय समावेशीकरणमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए।
बैंकका अनुसार हाल देशभर २३० शाखा, २५० एटीएम तथा ५७ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले २९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। अन्तर्राष्ट्रियस्तरको बैंकिङ प्रविधिमार्फत सेवा प्रदान गर्दै आएको बैंकले डिजिटल सेवाको प्रयोग विस्तार गरेको पनि जनाएको छ। बैंकका अनुसार करिब २८ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन्।
वार्षिकोत्सव समारोहमा बैंकमा २५ वर्ष सेवा गरेका तीन जना र २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा कदरस्वरूप पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई समेत पुरस्कृत गरिएको बैंकले जनाएको छ।
प्राकृतिक विपत्तिका प्रतिकूल अवस्थामा समेत बैंकिङ सेवा सञ्चालनलाई निरन्तरता दिएका त्रिशूली र धुन्चे शाखालाई समारोहमा सम्मान गरिएको थियो। साथै, स्याफ्रुबेसी एक्सटेन्सन काउन्टरमा विषम परिस्थितिमा बैंकको सम्पत्ति संरक्षणमा भूमिका निर्वाह गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले सहभागीहरूलाई स्वागत गरेका थिए। समारोहको अन्त्यमा बैंकका अध्यक्षले कर्मचारीलाई उच्च मनोबल, जिम्मेवारी र इमानदारीका साथ कार्यसम्पादन गर्न आग्रह गर्दै कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए।
बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा नयाँ डिजिटल कर्जा सेवा सार्वजनिक गर्नुका साथै सेवा अवधिका आधारमा कर्मचारी तथा उत्कृष्ट शाखाहरूलाई सम्मान गरेको हो।
















