सेयर बजार सुधारका लागि २१ बुँदे कार्यक्रम कार्यान्वयनमा रहेको अर्थमन्त्री वाग्लेको भनाइ
वि.सं.२०८३ मंसिर १ मंगलवार १३:०९
shares

काठमाडौं, १ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सेयर बजार सुधारका लागि सार्वजनिक गरेको २१ बुँदे कार्यक्रम कार्यान्वयनमा रहेको बताएका छन्। विगतमा सेयर बजारमा देखिएका विकृति तथा अनियमितता नियन्त्रण गर्दै बजारलाई नियामकीय दायराभित्र व्यवस्थित गर्ने काम भइरहेको उनको भनाइ छ।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सेयर बजार सुधारका लागि सरकारले विभिन्न नीतिगत कदम अघि बढाएको जानकारी दिएका हुन्।
कार्यक्रममा उनले चालु आर्थिक वर्षमा सरकारले आयकरका दरमा परिवर्तन गरेको पनि बताए। उनका अनुसार व्यक्तिगत आयकरको अधिकतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ। त्यस्तै, व्यक्तिगत आयकरको छुट सीमा पाँच लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ।
सरकारले करका दर घटाउँदा राजस्व संकलनमा असर पर्न सक्ने विषय उठे पनि कर प्रणालीको पुनरावलोकन र सुधारलाई प्राथमिकता दिइएको अर्थमन्त्री वाग्लेले बताए। कर्मचारीको पारिश्रमिक वृद्धि भए पनि करसम्बन्धी व्यवस्थामा परिवर्तन गरिएको उनले उल्लेख गरे।
भन्सार तथा अन्तःशुल्क प्रणालीमा समेत सुधार प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। अघिल्लो आर्थिक वर्षमा बजेट तयारीका लागि चार साताको समय मात्र उपलब्ध भएकाले पर्याप्त तयारी हुन नसकेको उल्लेख गर्दै यसपटक पाँचदेखि छ महिनाअघिदेखि नै बजेट तयारी र नीतिगत सुधारको काम अघि बढाइने उनले बताए।
आगामी जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्षको बजेटमा सुधारका कार्यक्रमलाई थप विस्तार गर्ने सरकारको तयारी रहेको पनि उनले जानकारी दिए।
त्यसैगरी, पूर्वाधार सम्मेलनको सन्दर्भमा सरकारले समग्र कानुनी सुधारको प्रक्रिया अघि बढाइरहेको उनले बताए। यस क्रममा ५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने तयारी रहेको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले भोटेकोसी प्याकेजको एक चरण कार्यान्वयनमा ल्याइएको र समग्र अर्थतन्त्रलाई लक्षित गरी आर्थिक प्याकेजको तयारी भइरहेको जानकारी दिए। आगामी एकदेखि दुई साताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।
उनले सुधारलाई एकपटकको निर्णयमा सीमित गर्न नहुने उल्लेख गर्दै कार्यान्वयनका क्रममा देखिएका समस्या र आवश्यकताका आधारमा नीतिगत परिमार्जन गर्दै जानुपर्ने धारणा राखे।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले नीतिगत सुधारका क्रममा कमजोरी वा आवश्यकताभन्दा बढी हस्तक्षेप हुन सक्ने उल्लेख गर्दै आगामी निर्णय तथ्य र प्रमाणका आधारमा लिनुपर्ने बताएका थिए।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा व्यक्तिगत आयकरको अधिकतम दर २९ प्रतिशत र आयकर छुट सीमा १० लाख रुपैयाँ कायम गरिएको व्यवस्था बजेट वक्तव्यमा उल्लेख छ। सरकारले पुँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना पनि सार्वजनिक गरेको छ।
















