बुटवलको खानेपानी परियोजनालाई WAFA २०२६ को अन्तर्राष्ट्रिय अवार्ड
वि.सं.२०८३ मंसिर ६ आइतवार १२:३९
shares

काठमाडौं, ६ मंसिर । नेपालको संस्था पार्टनरसिप फर सस्टेनेबल डेभलपमेन्टले रुपन्देहीको बुटवलमा सञ्चालन गरेको ‘वञ्चित समुदायका लागि जल सुरक्षा’ परियोजनाले वाटर एयर फुड अवार्ड (WAFA) २०२६ अन्तर्गत पानी विधाको अवार्ड जितेको छ ।
डेनमार्कको कोपनहेगन बिजनेस स्कुलमा आयोजित ग्रिन बिजनेस फोरम २०२६ अन्तर्गत Generation Green Workshop उक्त अवार्ड घोषणा गरिएको हो । पाँच महादेशका १० देशबाट छनोट भएका १२ अन्तिम प्रतिस्पर्धीमध्ये नेपालको परियोजना सामुदायिक नेतृत्वमा हासिल गरेको प्रभाव र विस्तार गर्न सकिने प्रकृतिमा आधारित दृष्टिकोणका कारण विजेता बनेको हो ।
डा. दत्तबहादुर रावलको नेतृत्वमा सञ्चालित यस परियोजनाले खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणालीमार्फत वञ्चित समुदायको सुरक्षित खानेपानीमा पहुँच विस्तार गरेको छ । परियोजनाअन्तर्गत पाँचवटा कम गहिराइका ट्युबवेल सुधार गरिएको छ भने पानी प्रशोधन प्रणाली जडान गरिएको छ । यसका साथै ७० घरपरिवारका शौचालय स्तरोन्नति र विद्यालयमा दुईवटा शौचालय ब्लक निर्माण गरिएको छ ।
परियोजनाबाट करिब १७० घरपरिवारका ६५० जना स्थानीय बासिन्दा र ४५० जना विद्यालयका बालबालिका लाभान्वित भएका छन् । परियोजनाले वार्षिक करिब २० हजार ८२० घनमिटर सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले करिब १३ हजार बिरुवा रोपिएको छ । यसबाट वार्षिक अनुमानित २८६ मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जनको प्रभाव न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
परियोजनाको दिगोपनका लागि स्थानीय समुदायले जल उपभोक्ता समिति र सञ्चालन तथा मर्मतसम्भार समिति गठन गरी खानेपानी प्रणालीको व्यवस्थापन गर्दै आएका छन् । सञ्चालन तथा मर्मतसम्भार समितिमा ५० प्रतिशत महिला सहभागिता रहेको छ ।
WAFA का अनुसार यस परियोजनाले समुदायको नेतृत्वमा सञ्चालन हुने पहलबाट दीर्घकालीन जल सुरक्षा सुनिश्चित गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ । साथै, यस्तै चुनौती सामना गरिरहेका नेपालका अन्य क्षेत्र तथा विश्वका विभिन्न स्थानमा समेत यो परियोजना विस्तार गर्न सकिने सम्भावना देखाएको छ ।
सन् २००८ मा स्थापना भएको वाटर एयर फुड अवार्ड (WAFA) ले हालसम्म ८२ देशका ८ करोड ४० लाख मानिससम्म प्रभाव पुर्याएका १८ जना जलवायु नवप्रवर्तकलाई सम्मान गरिसकेको छ ।

















